कांग्रेसको प्रदेश अधिवेशन आज : सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

 मंसिर १६, २०७८ बिहीबार ७:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।

अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।

प्रदेश-१ को अधिवेशन विराटनगरमा, प्रदेश-२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशनका लागि तीन/तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले छ । देश सङ्घीयतामा गएपछि कांग्रेसले सङ्गठन संरचना वडा, पालिका, प्रतिनिधि सभा/प्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ ।

हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुनेछ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आजदेखि प्रदेश अधिवेशन सुरु हुने भएकाले ती जिल्लामा नेतृत्व चयन महाधिवेशन सकिएपछि मात्र हुनेछ ।

नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन् । २७ जिल्लामा संस्थापन इतर समूह र दुई जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति चयन भएका छन् । कांग्रेसले पालिका र प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।

अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम छन् । यी जिल्लाबाट महाधिवेशन प्रतिनिधि भने चयन भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाण्डौमा हुँदैछ ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया