भारतको नागाल्यान्डमा भएको सैन्य कारबाहीमा १३ सर्वसाधारणको ज्यान गयो

 मंसिर १९, २०७८ आइतबार २०:२३:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको नागाल्यान्ड राज्यमा हिजाे शनिवार राति भएको सैन्य कारबाहीमा कम्तीमा १३ जना सर्वसाधारणको ज्यान गएको छ ।

म्यानमारसँगको सीमा नजिक मोन जिल्लामा गस्ति गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयहरू कामबाट फर्किरहेका बेला गोली चलाएको बीबीसीले जनाएको छ । शवहरू थुपारिएको ट्रक फेला पारेपछि रिसाएका स्थानीयवासीले सुरक्षा अधिकारीमाथि आक्रमण गर्नुको साथै सेनाको गाडी जलाइदिएका छन् ।  

घटनामा एक जना सेनाको समेत ज्यान गएको घटनाप्रति भारतीय सेनाले गम्भीर दुःख व्यक्त गरेको छ । सेनाले 'कोर्ट अफ इन्क्वाइरी' को आदेश दिएको समाचार संस्था पीटीआईले जनाएको छ । 

भारतका गृहमन्त्री अमित शाहले हत्याको खबरले आफू दुःखी भएको बताउँदै राज्य सरकारले घटनाबारे छानबिन सुरु गरेको बताउनुभएको बीबीसीले जनाएको छ । नागाल्यान्डमा वर्षौँदेखि पृथकतावादी लडाकु र सुरक्षा फौजबीच झडपहरू भइरहेको छ । नागाल्यान्ड राज्यका मुख्यमन्त्री नेफियू रियोले ट्वीट गरेर सर्वसाधारण मारिनु दुःखद रहेको भन्दै घटनाको निन्दा गर्नुभएको छ ।

इस्टर्न नागाल्यान्ड पिपुल्स अर्गनाइजेशनका अध्यक्ष केकोंगचिम यिमयुंगरले एक जना सेनासहित १४ जनाको शव भेटिएको, कैयौँ स्थानीय घाइते भएका र धेरै हराइरहेका भन्दै सरकारी तहबाट स्पष्ट जानकारी नआएको बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया