अब नेपाल एअरलाइन्सले दुबईमा हप्तामा ९ उडान भर्ने

 मंसिर १९, २०७८ आइतबार २०:३५:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकाेमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो ।

दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि त्यस अवसरमा सहभागिता थियो । 

त्यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले निगमका जहाज ग्राउन्डेड भन्दा आकाशमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाउनुभएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताउनुभयो ।

दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीको बाहुल्यता छ । थपिएको उडान हप्ताकाे आइतवार र बुधवार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ । काठमाण्डाैबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर बेलुका काठमाण्डाै नै फर्किनेछ । व्यापारिक हिसाबले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एअरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले हप्तामा १४ उडान भर्ने तयारी गरेको छ । एअरलाइन्सले अहिले दोहामा पाँच उडान गरिरहेको छ । 

नेपाल एअरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा हप्तामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ । महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ ।

नेपाल एअरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान बाइडबडी ए ३३० जहाज छन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया