टायर उत्पादन गर्ने देशकै एकमात्र रबर उद्योग तीन वषदेखि बन्द

 भदौ २३, २०७५ शनिबार ८:३७:१८ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखकाली रबर उद्योग चलाउने कि बन्द गर्ने भन्नेबारे अध्ययन गर्न सरकारले कार्यदल बनाउने भएको छ । 

एक साताभित्रै कार्यदल बनाइने र उसले दिने सुझावकै आधारमा थप निर्णय लिने उद्योग मन्त्रालयका अधिकारीहरुले बताएका छन् । २०७२ सालको भूकम्पयता उद्योग पूर्ण रुपमा बन्द छ । 

मजदुरहरुले ३४ महिनादेखिको तलब पाएका छैनन् । कि उद्योग चलाउनु पर्ने नभए आफूहरुलाई सम्मानजनक अवकाश दिनुपर्ने एकसुत्रीय माग सहित राजधानी पुगेका मजदुर नेताहरुलाई सरकारले कार्यदलको प्रतिवेदन पर्खन भनेको हो । उद्योग सचीव यामकुमारी खतिवडालाई भेटेर रबर उद्योगको वर्तमान अवस्था र सुधारका सम्भावनाबारे जानकारी गराएको मजदुर नेता धनपति न्यौपानेले बताउनुभयो । 

उनीहरुले दसैँअघि नै मजदुरको बाँकी तलब भुक्तानीको व्यवस्था मिलाउन पनि उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । ७२ सालमा उद्योग बन्द भएयता मजदुरले जम्मा ७ महिनाको मात्रै तलब पाएका छन् । २०७३ सालमा ४ महिना र ७४ मा ३ महिनाको तलब पाएको उद्योगका मजदुर गणेश राईले बताउनुभयो । 
उद्योगका २ सय ३८ मजदुर र कर्मचारीलाई बाँकी तलब दिनमात्रै झण्डै २५ करोड रुपैयाँ चाहिन्छ । ५५ वर्षको उमेरहदका कारण अनिवार्य अवकाश पाएका ४० जनालाई उपदानबापत ८ करोड रुपैयाँ दिन बाँकी रहेको मजदुरहरुले बताएका छन् । 

तलब र उपदानमा मात्रै ३३ करोड हाराहारी रकम चाहिने भए पनि सरकारले यसबारे केही बताएको छैन । तलब नपाउँदा दैनिक घरखर्च चलाउनै समस्या भएपछि केही मजदुरले वैकल्पिक काम थालेका छन् । 

बिहान ७ वजे उद्योगमा विद्युतीय मेशिनमा हाजिरी गरेपछि धेरैजसो मजदुर अन्तै काम गर्न जाने गरेको सिन्धुपाल्चोक घर भएका मजदुर थरिप्रसाद पौडेलले बताउनुभयो । बाहिरी जिल्लाबाट उद्योगमा काम गर्न आएकाहरुलाई बढी मर्का परेको उहाँको भनाई छ । 

उद्योग बन्द भएको ३ वर्षसम्म पनि सञ्चालनका विषयमा सरकारले ठोस कदम नचालेपछि ५ वटै मजदुर संगठनले एकसुत्रीय माग राखेर दबाबमूलक अभियान थालेका हुन् । 

उद्योग चलाउन नसक्ने भए बन्द गरेर कर्मचारीलाई अवकाश दिनुपर्ने उनीहरुको माग छ । देशलाई आर्थिक भार बोकाएर राख्नुभन्दा बन्द गर्नु राम्रो हुने विज्ञहरुले बताउने गरेका छन् ।

रबर उद्योग बन्द नै गर्दा पनि कर्मचारीका लागि मात्रै १ अर्ब २५ करोड रुपैयाँ दिनुपर्ने देखिएको छ । हालसम्मको तलबभत्ता, अवकाश पाएकाहरुको उपदान, सञ्चयकोष, जीवनबीमा, सञ्चित बिदा लगायत शीर्षकको रकम भुक्तानी गर्न त्यति रकम आवश्यक पर्ने देखिएको हो । 

कतिपय मजदुरले भने देशको एकमात्रै टायर उत्पादन कम्पनी भएकाले रबर उद्योग चलाउनु पर्ने बताएका छन् । अत्याधुनिक मेशिन र उपकरण प्रयोग गरेर टायर उत्पादन गर्ने हो भने विदेशी टायरको बजारसँग प्रतिस्पर्धा गर्न सकिने उनीहरुको भनाई छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया