‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’

 मंसिर २३, २०७८ बिहिबार २०:३०:४० | रासस
unn.prixa.net

स्याङ्जा – ‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’, स्याङ्जाको आँधीखोला गाउँपालिकाको 'युथ अफ आँधीखोला' ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी गर्‍याे । दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाउनुभएन ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक सञ्जालमा राखेर सरोकारवालालाई खबरदारी गरिएको छ । 

नागरिकस्तरबाटै यसरी खबरदारी हुन थालेपछि अहिले पुलको विषयले चर्चा पाउन थालेको छ । आँधीखोला गाउँपालिका ५ र ६ जोड्ने सेतीदोभानमा रहेकाे आँधीखोलामा निर्माणाधीन मोटरेबल पुलको काम अलपत्र परेपछि यसको निर्माणका लागि दबाब दिन थालिएको हो । स्याङ्जासँगै देशकै गौरवका रूपमा रहेको सिरुबारी सामुदायिक घरबाससम्म जोड्ने मुख्य सडकमा पुल अलपत्र परेपछि स्थानीयवासीका साथै आन्तरिक र बाह्य पर्यटकलाई सास्ती भएको छ, युथ अफ आँधीखोलाका अध्यक्ष हरि ढकालले भन्नुभयो, पुल समयमा बन्नुपर्ने मागसहित विगतमा पटक–पटक आवाज उठायौँ, सुनवाइ नभएपछि सामाजिक सञ्जालमार्फत दबाब दिन बाध्य भएका हौँ ।

ठेकेदारले राजनीतिक पहुँचका भरमा पुल निर्माणमा ढिलाइ गरेपछि यहाँका बासिन्दा हैरानीमा परेकाले नागरिकस्तरबाट स्वतःफूर्तरूपमा दबाबमूलक अभियान सञ्चालन गर्न बाध्य भएको ढकाल बताउनुहुन्छ । यही पुलको विषयलाई लिएर गएकाे आइतवार नेपाली कांग्रेस आँधीखोला गाउँ कार्यसमितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको ध्यानाकर्षण गराएको सभापति नरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पुल समयमा निर्माण सम्पन्न नभएका कारण सास्ती भयो, उहाँले भन्नुभयो, गाउँ कार्यसमितिको बैठकले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र छिटो निर्माण सम्पन्न गर्नका लागि अनुरोध गर्ने निर्णय गर्‍याे र त्यही निर्णय मुख्यमन्त्रीलाई बुझाएका हौँ । पुल निर्माणका लागि व्यवसायी कान्छाराम अशेष जेभी कास्कीले २०७१ असोज २६ मा दुई वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
दुई वर्षभित्रमा काम सम्पन्न गर्नुपर्नेमा सात वर्षमा पनि पुल निर्माण भएको छैन । पुल निर्माणका लागि २०७८ असार मसान्तसम्म समय थप गरिए पनि काम अघि बढेको छैन । तर ठकेदार कान्छाराम तामाङ पुलको धेरैजसो काम सकिएको र डेढ महिनाभित्र पूरै काम सम्पन्न हुने दाबी गर्नुहुनछ । वर्षाका कारण समयमा ढलान गर्न सकिएन, कोभिड–१९  महामारीले पनि समस्या भयो, उहाँले भन्नुभयो, आउँदाे चैत मसान्तसम्म समय थप गरिएको छ, त्याे समयअघि नै पुल निर्माण सम्पन्न गरिसक्छौँ । पुल निर्माणका लागि दुई करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया