पुँजीगत खर्च हुन नसक्दा तरलताकाे समस्या आयाे : अर्थमन्त्री शर्मा

 मंसिर २३, २०७८ बिहिबार १८:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताउनु भएको हो ।

अर्थमन्त्री शर्माले तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताउनुभयो । उहाँले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना बनाएको तर योजनाअनुसार खर्च गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरूलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताउनुभयो ।

अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बन्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताउनुभयो । सरकारले अहिलेसम्म चार खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गएकाे आर्थिक वर्षकाे तुलनामा ४० प्रतिशतले राजस्व उठेकाले खासै पैसाको अभाव नभएको बताउनुभयो उहाँले । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब रुपैयाँ राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइ नसकेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले पुँजीगत खर्च बढेको भए बजार तरलता अभाव हुने थिएन । तर सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलताको समस्या आएको छ । विगतको सरकारले बनाएका कतिपय नीतिको कारण पनि अहिलेको समस्या आएको हो । राष्ट्र बैंकले तरलता सहज बनाउन लागि रहेको छ । नेपालको अर्थ व्यवस्था आयतमुखी भएको छ । यसलाई उत्पादनमुखी बनाउनुपर्ने चुनौती रहेको छ। यसका लागि गुणात्मक परिवर्तन आजको आवश्यता हो, राजस्व सङ्कलन प्रणाली, खर्चे गर्ने प्रणाली बलियो बनाउनु आवश्यक पर्छ ।’ 

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर सात प्रतिशत नै हासिल गर्न सकिने बताउनुभयो । उहाँले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पार्नुभयो । अर्थमन्त्री शर्माले 'क्लाइमेट चेन्ज' ले धेरै चुनौती दिए पनि त्यसका बाबजुद आर्थिक वृद्धि दरको लक्ष्य भेटिने बताउनुभयो ।

अर्थमन्त्री शर्माले विदेशबाट अवैधरूपमा भित्रिने सुन नियन्त्रणका लागि अर्थ मन्त्रालयले विशेष 'टास्क फोर्स' बनाएर विमानस्थल भन्सारमा राखेको बताउनुभयो । उहाँले अहिले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएकाले यसबाट राजस्वमा टेवा पुर्‍याउने बताउनुभयो । उहाँले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याएको सुन दैनिक १९/२० किलो जम्मा भएको बताउनुभयो । मन्त्री शर्माले सरकारले विलासिताका वस्तुलाई पनि आयातमा नियन्त्रण गर्ने योजना बनाउने तयारी गरेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया