कांग्रेस १४ औँ महाधिवेशनमा प्रतिनिधि सङ्ख्या चार हजार सात सय ४३ कायम

 मंसिर २४, २०७८ शुक्रबार २०:१९:५ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका जनसम्पर्कबाट गरी यी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज शुक्रवार भएको छ । उम्मेदवार मनोनयन दर्ता भोलि शनिवार अर्थात् मङ्सिर २५ गते बिहान १० देखि बेलुका ५ बजेसम्म राष्ट्रिय सभा गृहमा हुनेछ । उम्मेदवारी मनोनयन दर्तामाथि दाबी/विरोध र जाँच मङ्सिर २५ गते बेलुका ५ देखि ७ बजेसम्म र दाबी/विरोधमाथि निर्णय मङ्सिर २५ गते बेलुका ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । 

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ बजेर १५ मिनेटमा र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल एक सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया