‘रे’ वादी दर्शन

 मंसिर २५, २०७८ शनिबार १३:४९:१३ | सुष्मा रिसाल सापकोटा
unn.prixa.net

विश्वमा पौरस्त्य र पाश्चात्य गरी दुई किसिमका दर्शन छन् । पौरस्त्य अर्थात् पूर्वीय दर्शन पनि आस्तिक र नास्तिक, प्राचीन र आधुनिक गरी धेरै वर्गमा वर्गीकृत छ । आधुनिक युगमा आक्कलझुक्कल प्राचीन दर्शनको चर्चा हुने गरे तापनि आधुनिक दर्शनकै बोलाबोला हुनु अस्वाभाविक होइन । हाल, एउटा नयाँ दर्शन नेपालमा प्रादुर्भाव भएर दक्षिण एसिया हुँदै विश्वव्यापी, लोकप्रिय बन्दै गएको छ – ‘रे’वादी दर्शन । यसलाई उत्तरआधुनिक दर्शन भनेर मात्र पनि पुग्दैन, अतिउत्तरआधुनिक दर्शन नै भन्नुपर्ने हुन्छ । 

वास्तवमा दर्शन गुढ रहस्य हो । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा, समाधि, तपस्याको अभ्यासद्वारा दर्शनको आधार तयार हुन्छ । तर ‘रे’वादी दर्शन पद्धति त्यसको ठीक विपरीत छ । अरू दर्शन प्रतिपादन गर्न त के कुरा बुझ्नै पनि लामो साधना, अध्ययन र विश्लेषणको आवश्यकता पर्छ भने ‘रे’वादी दर्शनमा तर्क नगर्ने, लहैलहैमा लाग्ने, कागले कान लग्यो भन्दा कान नछामी कागको पछि लाग्नेजस्ता विशेषता आवश्यक पर्छ । 

कसैले भनेका थिए रे “दर्शन भनेको अँध्यारो कोठामा त्यो टोपीको खोजी गर्नु हो जुन त्यहाँ छँदै छैन ।” ‘रे’वादी दर्शनमा हुँदै नभएको त्यो टोपीसमेत केबाट बनेको, कत्रो छ, कस्तो छ, कति पर्छ, कहाँबाट ल्याएको, कहिले,कहाँ नासिन्छ ?देखेर कसैले मज्जैले कथा बुन्छ र एक कान दुई काम मैदान हुँदै फर्केर आविष्कारकसम्म आइपुग्दासम्म त्यसको रूपरङ्ग, बनोट, मूल्यसम्मको नयाँ संस्करण निस्किसकेको हुन्छ । 

अति उत्तर आधुनिक वाद भए पनि यसका प्रतिपादक को थिए, प्रथम प्रयोगकर्ता को थिए भनेर कोही माइका लालले पत्ता लगाउन सकेको छैन । आधुनिक हुँदैमा सबै कुरो कहाँ पत्ता लाग्छ र ? कस्ता कस्ता रोगका औषधि पत्ता लागेका छैनन्, कस्ता कस्ता काण्डका घटक पत्ता लागेका छैनन् भने अतिउत्तर आधुनिक ‘रे’वादी दर्शनका प्रणेता पत्ता नलाग्नुलाई त्यत्रो ठूलो विफलता मान्नुपर्छ भन्ने पनि छैन । 

‘रे’वादी दर्शनको प्रतिपादन कहिले भयो भन्न नसके पनि सञ्चारको प्रगतिसँगै यसको विकासक्रमलेगति लिएकोमा भने मति बझाउनै पर्दैन । भाषाको विकाससँगै यो दर्शन अस्तित्वमा आएको हुनुपर्छ भन्न पनि धेरै ठूलो अध्ययन, अनुसन्धानको आवश्यकता पर्दैन । टेलीफोन युगदेखि फल्ने, फस्टाउने मौका पाएको यो दर्शन हातहातमा मोबाइल सेट परेपछि स्वर्णयुगमा प्रवेश गरेको हो । 

जस्तोसुकै सामाजिक, आर्थिक,राजनीतिक, धार्मिक, सांस्कृतिक, भौतिक, ऐतिहासिक, भौगोलिक परिवेशमा पनि क्रियाशील रहने यस दर्शनले बाढी आओस् कि पहिरो खसोस्, सुख्खा परोस् कि आँधी उडोस्, रगत जमाउने जाडो होस् कि पसिना निखार्ने गर्मी सबै विषयमा बजार तताउने क्षमता राख्छ । हटर अफ सिजनको आर्थिक सिद्धान्त चाँहि यस दर्शनमा पनि थेरथोर लागू हुन्छ ।

यो दर्शनका अनुयायीहरूको सबैभन्दा उल्लेखनीय विशेषता भनेको सिद्धान्तप्रति कल्पनातीत लग्गू बन्नु हो । प्रजातन्त्रको माला जप्दै प्रजातन्त्रकै बिउसमेत बाँकी नराखेका महाप्रजातन्त्रवादी र सर्वहारा वर्गको भजन गाउँदै आफू भने पुँजीवादको सर्वश्रेष्ठ नमूना बनिसकेका मार्क्सवादीजस्ता सिद्धान्तहन्ता ‘रे’वादी हुनै सक्दैनन् । ‘रे’वादी जडसूत्रवादी हुन्छन् त्यसैले एक कानले सुनेको कुरो ‘रे नि’ ‘रे नि’ भन्दै मैदान बनाउनेइमानधर्मको पालकमात्र यस दर्शनका दार्शनिक हुने योग्यता राख्दछन् । 

‘रे’वादी दर्शनविशुद्ध साम्यवादी सिद्धान्तमा आधारित भएकोले यहाँ सबैको हैसियत, ओहदा, तह, पद समान हुन्छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, साधारण सदस्य, सानोठूलो, उचनिचको भेदभाव गरिन्न । सुको खर्च नगरी साधारण सदस्यकै भरमा चुस्तताले काम हुने यस दर्शनले निर्वाचन सिर्वाचनको झण्झट पनिबेहोर्दैन । त्यसैले स्थायी समिति, कार्य समिति मातृ, पितृ, भातृ, भागिनी, मातुल सङ्गठन छैनन् । यस्तो औपचारिकतामा नपरेकै कारण यसलाई दल भन्न पनि मिल्दैन । तर यसका अनुयायी बराबर सदस्य बनाएर जस्तोसुकै ‘मैँ हुँ’ भन्ने दलले देखाओस् त ? अमूर्त, असङ्गठित भैकन पनि यो दर्शन जीवन जगतभर फैलिएको छ, सर्वव्यापी छ ।पूर्वीय गोलाद्र्धका दोपाया प्राणीत ‘रे’वादी दर्शनप्रति हुरुक्कै भएर लागेका छन् ।

राजनीतिक पार्टीजस्तो लहर चल्दा ह्वात्तै सदस्य बढ्ने, नचल्दा स्वाट्टै घट्ने समस्या यसले बेहोर्दैन । ‘रे’वादी दल गठन गरेर निर्वाचन आयोगमा दर्ता गर्ने हो भने सबै राजनीतिक दलहरूलाई कमण्डलु बोकेर काशी जानुपर्ने बनाइदिएन भने अनि कुरा गर्नू। यसको कार्यशैली नै त्यस्तै छ । जस्तै : रातको ९ बजे ट्वार्र टेलीफोनको घण्टी बज्यो । रिसिभर उठाउन नपाई उताबाट विना भूमिका आत्तिएको आवाज आयो, “थाहा पायाै रानीले सुन्दरीजलको पानी ट्याङ्कीमा विष हाल्न लाकोछ रे, धाराको पानी नखानू है ।”  २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेको बेलामा घण्टाभर नबित्दै यो खबरले राजधानी ढाक्यो । खबर पाउने कान छाम्नतिर लागेनन्,कागकै पछि लागेर चिने जतिलाई खबर गर्न थाले । 

खबर कानमा पर्न पाएको छैन बस्नेत्नी आमै‘आन्दोलन न सान्दोलन, पर्मोदेकाँ फुन छैन, गरै खबर गर्चु’ भनेर फरिया स्याहार्दै तीन किलोमिटर पर बसेको छोराको घरतिर लागिन् जबकि पर्मोदेले तीनतिरका  छिमेकीबाट अघि नै खबर पाएर धाराको लाइन बन्द गरिपरि आफूले पनि भ्याएसम्म खबर फैलाइसकेको  थियो । हेरामायाले होष्टेलमा एसएलसीको तयारी गरिरहेको नातिलाई ‘ढाराको पानी नखाऊ है बौ’भन्न छोरा हेर्काइलाई बिहान काग नकराउँदै उठाएर पठाइन् । नेत्रनाथ बाजेले अरूको विश्वास नलागेर आफैँ लाइन बन्द गरेर सुतेका थिए ।

ए बाबा ! थोरैमा दुई करोड धेरैमा पाँच करोड लिटर पानी अट्ने सुन्दरीजल रिजर्भ भ्वायरमा मान्छे मर्ने गरी हाल्न कसले, कहिले, कसरी र कति विष बोकेर लाने मौका पायो होला ? कसैले ‘गर्’ भन्दैमा यस्तो कुकृत्य गर्न को तम्सियो होला ? न पाठक्नी आमैले सोचिन्, न हेरामाया र नेत्रनाथले ।  

अर्को उदाहरण : बाराको जङ्गलमा ६ महिनादेखि अन्न न पानीसँग तपस्या गरिरहेका बुद्ध भेटिए रे । १६ वर्ष पनि पुगेका छैनन् रे । अनुहार नै कस्तो तेजिलो छ रे । देशभरिबाट ‘रे’वादी दर्शनार्थीको लुडोले जङ्गल भरियो । चिया, बिस्कुट, दुनोट, चाउचाउ बेच्नेले अलिअलि व्यापार पनि गरे । १०० मिटर वरबाटै नवागन्तुक बुद्धको दर्शन पाएको भरमा ‘रे’वादीले रेशमी सारीमा सलमासिताराको बुट्टा भरेर खबर फैलाए । केही वर्षको तपस्यापछि ती स्वघोषित बुद्धले धर्म चक्रप्रवर्तन पनि गरे । अन्धभक्त आशीर्वादले निर्वाणमा पुगे । आज ती अवतारी बुद्धपुलिसको फरार सूचीमा छन्, हत्या, बलात्कार र अवैध धन्दा सञ्चालन गरेको आरोपमा । उनका अनुयायी राजनीति कार्यकर्ताको विवेकझैँ कता हराए कता । 

‘रे’वादी चिन्तकको क्रियाशीलताको वर्णन हजार जिब्रा भएको शेष नागले पनि गर्न सक्दैन भने अरूको के बुत्ता चल्नु ?एक सुख्खा याममा ‘रे’वादी एकएक जुर्मुराए : मङ्गलाको घराँ ल्याको डेरीको दूधमा मान्छेको औँला रे बाबै ।  रातो नेलपालिस लगाएको नङ नै थियो रे । दूधको ट्याङ्कीमा मान्छे डुबेर मर्या छ रे । त्यै भर अचेल दूग्ध कस्तो गनाको छ । छ्या मेरो त पेटै हुँडलिएर आयो । 

राजधानीमा यो हल्लाको हुण्डरी चलेपछि दूग्ध विकास संस्थानले दूध सङ्कलन गर्ने, प्रशोधन गर्ने, पास्चराइज गर्ने ट्याङ्कीसम्म रित्याएर देखायो । त्यहाँ मान्छे डुबेर मर्ने सानो सम्भावनासम्म थिएन । तै तै मान्छे डुबेकै भए पनि संस्थानले एक ट्याङ्की दूध नालीमा बगाउँदो हो त्यो दूध बेचेर बदनामी किन कमाउँदो हो ?संस्थानका कर्मचारीपनि त्यही दूध खान्छन् । उनीहरू सिनो डुबेको दूध किन खाँदा हुन् ? तर ‘रे’वादीले तर्कमा विश्वास गर्दैनन् । हो रे हो रे । ट्याङ्कीमा मान्छे डुबेकै हो रे । रातो नेलपालिस लाएको नङ्गसहितको औँला भेटेकै हो रे । संस्थान ‘होइन’ भन्दै रह्यो, ‘रे’वादीले हल्ला चलाउँदै रहे । 

‘रे’वादीले बेलाबखत राम्रै खेती पाउँछन् । राजा महेन्द्रको हृदयघातबाट निधन हुनु, सिंहदरबारमा आगो लाग्नु, नमिता सुनीताको हत्याकाण्ड, मदन भण्डारी, गिरिजाबाबु, सुशीलदाको मृत्यु, दरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प, निर्मला हत्याकाण्ड‘रे’वादी दार्शनिकका लागि असारको पन्ध्र हुन्छ। 

पोखरामा भएको नमिता, सुनीता भण्डारी, नीरा पराजुली र वनपाले चूडामणिको हत्याको गाँठो अझै फुकेको छैन, ‘रे’वादीले उहिल्यै घटनाका पचासौँ रहस्य खोजेर रे, रेकै भरमा हत्यारा पत्ता लगाइसके । प्रतिभाशाली, होनहार मानिएका ती नानीहरूको क्रुरतापूर्वक हत्या भएपछि उनीहरू ‘रे’वादीका नजरमा उत्ताउला, केटासँग अनावश्यक सङ्गत गर्ने ठहरिए । प्रमाणित लाससम्म नभेटिएकी नीर पराजुलीलाई त भीभीआईपीले दिल्लीमा फ्ल्याट लिएर राखेको छ रे भनेर कथा हाले । कल्ले हो दिल्लीको कुन चैँ सिनेमा हलमा भीभीआईपीसँग देखेका नै रे । ‘रे’वादीको दूरदृष्टिको योभन्दा राम्रो उदाहरण के होला र ?मान्छे जिउँदो भए त एक न एक दिन पत्ता लाग्नुपर्ने हो । अहँ नीरा पराजुली आजसम्म देखिएकी छैनन । ‘रे’वादीले जे देख्छन् नि त्यो अत्याधुनिक विज्ञानले पनि प्रमाणित गर्न सक्दैन ।

दरबार हत्याकाण्डमा ‘रे’वादी दर्शनको व्यापार खूब फष्टायो । के के रे के के रे । हत्या काण्डको किटानी जाहेरी,अनुसन्धान, बयान, सुनुवायी, फैसलासमेत ‘रे’वादीबाट सम्पन्न भयो षड्यन्त्रकारीले दुई करोड खर्च गरे दुरुस्तको मास्क बनाउन लगाएर भटटटट गराएको रे । जुन रहस्यबाट आजसम्म पर्दा उठेको मानिँदैन, मास्कमा खर्च भएको रकमसम्म पत्ता लगाइदिए ‘रे’वादीले ।भटटटटको सत्य-तथ्यमाथि भने ओठ लेप्य्राइँ । ज्वाइँ नारनको साविती बयानलाई ‘रे’वादीले लोपुवा खुवाइदिए । एउटा मुकुण्डो बनाउन ऊ बेलाको दुई करोड????कल्पनाको रकम न हो जति करोड खर्च गरे नि भैगो ! न अख्तियारले समात्छ, न महालेखाले बेरुजु देखाउँछ, न राष्ट्रिय सरोकार आयोगमा उजुरी लाग्छ ?

‘रे’वादी दार्शनिकलाई २०७२ साल स्वर्ण युग रह्यो । वैशाख १२ गते भूकम्प गएपछि त मेरा बाबै । केके रे केके रे । सिन्धुपाल्चोकमा कसकसले मिलेर नागलाई तातोपानीको ड्रममा डुबाएर मारेका थिए रे । त्यही पाप कराएको रे । बरा नागदेवतामा यत्रो धरती हल्लाउने क्षमता हुँदो हो तातोपानीमा डुबाउनेलाई पहिल्यै डस्ता हुन्, उसैलाई भष्म गर्दा हुन्, तातोपानीमै पनि किन चोबलिँदा हुन् ? घटनासँग लेनदेन नै नभएका उति पर बारपाकलाई जुरुक किन उचाल्दा हुन् ? त्यसपछि ‘रे’को व्यापारले अघिअघिको रेकर्ड नै तोड्यो नि । सेल फोनको जमाना आइसकेको थियो, अरथाेक बन्द भए पनि इन्टेनर चल्न थालिहाल्यो । यता भूकम्पविद्हरू भूकम्प कहिले जान्छ, कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सकिन्न भनेर घाँटी सुक्ने गरी कराएको करायै छन् यता ‘रे’वादी भने यति बजे यति हेक्टर?को भूकम्प जान्छ भनेर फलानो जोतिषीले भनेको छ रे, बीबीसीले नै भनेको रे, यसो रे, उसो रे भन्ने, उनैका कुरा पत्याएर विज्ञका कुरालाई धोती लगाइदिने सिजन चल्यो निकै लामो समयसम्म । 

“खासमा नि आठ रेक्टरभन्दा माथिको भूकम्प जाँदा भएको जनधनको क्षतिको सरकारले क्षतिपूर्ति दिनुपर्ने नियम छ रे । जनतालाई क्षतिपूर्ति दिनुपर्ला भनेर ढाँटेर, रेक्टरस्केल घटाएर भनेको रे । त्यस्तरी हल्लाएको थियो, हुन्छ काम नपाएर ७ दशमलव ६ मात्तै  ? ८ हेक्टरभन्दा कम त छँदै थिएन ल ।”कोही चर्कँदै थिए, मानौँ उनै भूकम्पमापक यन्त्र हुन् । 

ए हो र ? त्यस्तो नियम छ ? कहाँ छ ? कहाँ लेखेको छ त ? उसो भए त सरकारको ध्यानाकर्षण गरौँ, अदालत गुहारौँ । कहाँ छ हँ त्यो नियम ? ‘रे’वादीको जवाफ : होला नि कतै कतै । 

ए बाबा ठाकुरे ? राज्य के कतै-कतै लेखेको नियमले चल्छ ? राज्यको मूल नियम संविधान हो, त्यसको व्याख्या ऐन, नियमावलीले गर्छन् । त्यसबाहेक संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, राज्यको नीति तथा कार्यक्रमबाहेक कतै कतै लेखेको त्यस्तो कुन नियमको आधारमा राज्य चलाउन पाइन्छ ?आँखामा छारो हाल्नै भए पनि कुनै न कुनै नियममा टेकेरै काम गर्नुपर्छ । त्यसमाथि नेपाली सरकार यस्ता विषयमा चाहेर पनि ढाँट्नै नसक्ने अवस्थामा छ किनभने भूकम्पको अध्ययन गर्न अमेरिका, अष्ट्रेलिया, बेलायतले समेत यहाँ मापन केन्द्र स्थापना गरेका छन् । सरकारले ढाँट्यो भने पनि ती संस्थाबाट तुरुन्त खण्डन आउँछन् । तर ‘रे’वादी पत्याउँदैनन् । कतै न कतै त्यस्तो नियम छ रे क्या । छ रे । 

कञ्चनपुर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यस्तो संवेदनशील विषयमा पनि ‘रे’वादीले मज्जैको व्यापार चलाए । अझ भनौँ घिनलाग्दो व्यापार चलाए । रे रे कै भरमा घटनालाई स्यालको कथा बनाइदिए । एउटा धूर्त स्याल गाउँलेको कुखुरा चोर्न पल्केको रहेछ । कुखुरा चोर्न गाउँ आउँदा त्यो स्याल‘चिल आयो, चिल आयो’ भनेर कराउँदो रहेछ । गाउँलेहरू आफ्नो कुखुरा टिपेर लैजाला भन्ने चिन्ताले चिललाई आकाशतिर खोज्दा रहेछन् । त्यही मौका छोपेर स्याल तलतलबाट छिरेर गएर कुखुरा, चल्ला टिपेर भाग्दो रहेछ । निर्मला हत्याकाण्डमा पनि धुर्तहरूले ठूला मान्छे, ठूला मान्छे भनेर सबैको ध्यान ठूलातिर फर्काइदिए, सानातिनातिर खोजखबरै भएन । 

कञ्चनपुर कता पर्छ भन्नेसम्म थाहा नपाएका ‘रे’वादीले जहाँ बसेका छन् त्यहीँबाट हत्याराको किटानी गरिदिए । काठमाण्डौमा सत्यकथामा आधारित सिनेमा बनाए, युरोपबाट अभियोग दर्ता गरे, अमेरिका र अस्ट्रेलियाबाट इजलास चलाए, जापान र कोरियाबाट साविती बयान दिए, अरबतिरबाट फैसला सुनाइदिए र त्यही कामका लागि गठित चारपाँचवटा आयोग चाँहि हात लाग्यो शून्यभन्दा माथि पुग्न सकेका छैनन् । 

अब लागौँ सबैभन्दा नयाँ खेतीतिर : कोभिड १९ भाइरसको समस्या विश्वव्यापी बनेको संवेदनशील घडीमा आएर एउटा के कुरा प्रमाणित भयो भने नि –‘रे’ वादभलै विकासशील, पिछडिएको मानिने देशको आविष्कार होला तर यो दर्शन विश्वव्यापी भइसकेछ । भाइरसको सङ्क्रमण बढ्न थालेको आभासमात्र के पाएथे संसारका सबै मनुवाले बजारका सामान किन्दै घरमा थुपार्न थालिहाले । हामी त नेपालजस्तो खत्तम मान्छे बस्ने देशमात्र त्यस्तो हुन्छ भन्ठान्थ्यौँ, हैन रहेछ,मानिसको आदिम स्वभावमा खासै परिवर्तन आएको रहेनछ । ट्वाइलेट पेपरको हारालुछ यही ‘रे’वादी दर्शनमा अति विश्वासको परिणाम होइन र ?

आफ्नै ज्यान जोगाउन ‘मास्क लगाऊ’ भन्दा व्यक्तिगत स्वतन्त्रताको खोसिएको ठान्ने, स्वास्थ्यसम्बन्धी नियम पालना गराउन खोज्दा ‘सरकारले अनावश्यक हस्तक्षेप गरेको’ भन्ने, भीडभाड नगर्न दिएको आदेशलाई ‘मानव अधिकारको हनन’ भन्ने काम त हामीजस्ता सभ्य, आधुनिक र जानेबुझेका कोही छैनन् भन्नेले नै गरेकै देखियो । हाम्रोमा यति भएको भए, ‘बुद्धि नभएका नेपाली यस्तै हुन्, यिनको के कुरा गर्नु र ?’भन्न एक सेकेण्ड पनि पर्खन पर्दैनथ्यो ।

आफ्नै देशले बनाएको, विश्व स्वास्थ्य सङ्गठनले सिफरिस गरेको भ्याक्सिनमाथि विश्वास भएन तर त्यो विषयबारे केही नजान्नेले ‘यस्तो हुन्छ रे’, ‘उस्तो हुन्छ रे’ भनेको पत्याएर खोप लगाउन हिचकिचाएको देख्दा त हामीले ‘माग्नेलाई तातो भात ?’उखानलाई पनि मात दिँदै ‘मेड इन चाइना, आज छ भोलि छैन’ मार्काको होस् कि नक्कली माल बनाउन माहिर ‘हमारा भारत महान’ब्राण्डको होस् जे जे भेटियो गएर पाखुरा सुर्किहाल्यो । 

स्पुतनिक र एपोलोले चन्द्रमा हडप्ने योजनामा होडबाजी गर्ने विज्ञानप्रविधिका अब्बल रुसका जनतामा स्पुतनिक प्रति र अमेरिकामा जोन्सनप्रतिको अविश्वास देख्दा ‘रे’वाद कति विश्वव्यापी रहेछ भनेर किटान गर्न गाह्रो पर्दैन । उनले लगाएनन् र त हामीले बेलैमा सुँघ्न पायौँ नाइँ । नेपालीको वैदेशिक रोजगारीको बैतर्नी त लगभग जोन्सनले नै तारिदियो । यो पनि उतातिर चलेको ‘यो राम्रो छैन रे’ कै परिणाम न हो ? विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशका नागरिकलाई ‘पैसा दिउँला आओ न खोप लगाओ’ भन्नुपर्छ भने हाम्रातिर चुनावको बेला पैसोको लोभमा भोट हाले भनेर के अचम्म मान्नु ? मान्छे चिन्न मौका आउनुपर्दो रहेछ । पश्चिमी गोलार्द्धका अतिउत्तर आधुनिक, अतिमानव ठानिएका मनुवाहरू पनि कतिसम्मका अनुशासित, नियमसङ्गत रहेछन् भन्ने यो कोभिडकालमा छर्लङ्गै भयो । 

निष्कर्षमा भन्नु पर्दा संसारका सबै मनुवाभित्र ‘रे’वादी दर्शनले बलियोसँग पकड जमाएको रहेछ । 

अन्तिम अपडेट: माघ ३, २०७८

सुष्मा रिसाल सापकोटा

दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेसामा आबद्ध सापकोटा ख्वप मावि भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।

 

तपाईको प्रतिक्रिया