शेयर बजारमा लगानी ‘साम्राज्यवादकाे विकसित रूप’ : प्रचण्ड

 मंसिर २६, २०७८ आइतबार १७:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गर्नुभएकाे छ । 

हिजाे शनिवार माओवादी केन्द्रको सबै प्रदेशको सम्मेलनलाई काठमाण्डाैबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयलाई पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाउनुभयो । 

अध्यक्ष प्रचण्डले शेयर बजारप्रति लक्षित गर्दै पहिले–पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर अहिले लगानी पुँजी वा दोस्राे बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताउनुभयो । उहाँले नेपाललगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार,आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरूमा हुने गरेकाे बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ । अहिले धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंकलगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरूले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौँ । तर त्यस्तो होइन । यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादकाे विकसित रूप हाे । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने, नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकट्ठा गर्ने योजना हो । यसरी विश्वको पैसा सीमित पुँजीपतिहरूले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली पुँजी बजार हो । पुँजी बजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्न सक्नुपर्छ । पुँजी बजारबाट पुँजीपतिहरूले सिधै पुँजीबाट पुँजी लिने गर्दछन् । पुँजीको लगानी उत्पादनमा हुँदैन, धितोपत्रमा र सट्टा बजारमा हुन्छ । बैंकहरूले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अरबौँ कमाउने गरेका छन् । अहिले विश्वभर नै शेयर बजारमा लगानी बढ्न थालेको छ ।’

अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले यस प्रकारमा विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारामा माओवादी आएको बताउनुभयो । यसको अनुसन्धान नगरेसम्म देशमा, देशको अर्थतन्त्रमा उज्यालो नआउने पनि उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tilak acharya

    Dec. 12, 2021, 6:01 p.m.

    सर्ब साधारण को लगानी डुबाउने , र पुजिबजार बिराेधि लाई अबकाे चुनाबमा नाे भाेट गराै । सम्पुर्ण लगानि कर्ता एक हाै । पुजि बजार बिराेधिलाई अबकाे चुनाब बाट पत्तासाप पाराै। जय पुजि बजार

  •  0 Reply

तपाईको प्रतिक्रिया