आज २७औँ काठमाण्डौ महानगर दिवस, ३२ वटै वडामा सार्वजनिक बिदा

 मंसिर २९, २०७८ बुधबार ९:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ । आज वसन्तपुरमा परम्परागत बाजासहित विशेष कार्यक्रम हुँदैछ ।

कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने  सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते  महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

यस्तै, दिवसका अवसरमा आज काठमाण्डौका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ । आफ्नो कार्यकालमा चार सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको महागरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो । यस्तै स्वास्थ्यका क्षेत्रमा ‘वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ । त्यसैगरी वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै शिक्षाका क्षेत्रमा ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ । नेपाल भाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपाल भाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाण्डौको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याउने तयारीमा महानगरपालिका लागीपरेको छ । यसैगरी २०७२ सालको भूकम्पले क्षति भएका काष्ठमण्डप, धरहरा, रानीपोखरी, कमलपोखरी लगायत राष्ट्रिय गौरबका सम्पदाहरुको पुनर्निमाणका कार्य समेत गरेको मेयर शाक्यले बताउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया