बिजुली बेचेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

 मंसिर २९, २०७८ बुधबार १३:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार  नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्‍टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउनुहुँदै बिजुली बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताउनुभएको हो । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा बिजुली उपलब्ध गराएर खपत बढाउनुपर्ने बताउनुभयो । ‘बिजुली उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उहाँले भन्नुभयो, ‘एकातिर बिजुली खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’

नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिनुभयो । यसलाई आउँदाे आर्थिक वर्षमा समेटिने समेत उल्लेख गर्नुभयो ।

उहाँले कुन उद्योगलाई कहाँ कति बिजुली उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर बिजुली उपलब्ध गराउनुपर्ने बताउनुभयो । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर बिजुली सहुलियतमा उपलब्ध गराउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएको हो । यसले देशलाई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस्तै निजी क्षेत्रले देशको गार्हस्थ्य उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्नुहुँदै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आउँदाे नीति तय गरिने पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया