आज लिम्बु समुदायमा चासोक तङ्नाम पर्व मनाइँदै

 पुष ४, २०७८ आइतबार १०:५६:३६ | रासस
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डाै - पूर्वी क्षेत्रमा बसोबास गर्ने लिम्बु समुदायले आज चासोक तङ्नाम पर्व धुमधामका साथ मनाइरहेका छन् । प्रत्येक वर्षको धान्य पूर्णिमाका दिन लिम्बु समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउने गर्छन् ।

 किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले धान पाक्न थालेसँगै थक्याउने समयभरि याे पर्व मनाइने बताउनुभयाे । 

आजको दिन किराँत समुदायका बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश-१ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्वजनिक बिदासमेत दिएको छ । प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीमा चासोक तङ्नाम मनाइन्छ । 
 
चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बु जातिले अन्नलाई एक प्रकारले माङ् (देवता) नै मान्दै आएको किराँत याक्थुङचुम्लुङका ताप्लेजुङका उपध्यक्ष डीपी बालुङबाले बताउनुभयो । 

चासोक तङ्नाम पैँयु फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण) को न्वागी पर्व चासोक तङ्नाम पर्वका रुपमा मनाइने गरिन्छ । लिम्बु भाषामा ‘चासोक’को अर्थ नया पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व/चाड अर्थात उत्सव जनाउँछ ।

लिम्बु मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बु पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिएको लिम्बु शास्त्रमा उल्लेख गरिएको छ ।

प्राप्त बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बु महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गर्नुभयो । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यवर्द्धक खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाइ चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बु समुदायमा रहिआएको छ । 

धान र कोदो पाकेपछि लिम्बु जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आआफ्नो घरमा फेदाङ्मा (लिम्बु पुरेत) बोलाइ गरिन्छ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोगब्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ ।

चासोकका बेला कलात्मकरूपमा पुतलीकाे झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बु जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ ।

‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा आयोजना गरिन्छ । संस्थागतको चासोक तङ्नाम मनाउने क्रममा यसलाई सांस्कृतिक पर्यटनसँग पनि जोड्न थालिएको छ । चासोक पर्यटन प्रवर्द्धन गर्न लिम्बुवान क्षेत्रका विभिन्न ठाउँमा, मेलासमेत लाग्ने गर्छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया