महाेत्तरी : पाँच दिनदेखि चिसो स्याँठ चलेपछि जनजीवन प्रभावित

 पुष ६, २०७८ मंगलबार १०:११:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

महाेत्तरी - महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।

हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तररूपमा बगिरहेको चिसो स्याँठका कारण पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेको हो । यहाँका मानिस, चौपाया, पशुपक्षीसहित बालीनालीसमेत प्रभावित भएको छ ।

निरन्तरको बढ्दो जाडोले गर्दा विगत पाँच दिनमा जिल्लामा कुनै किसिमको मानवीय क्षति नभए पनि जिल्लाका गाउँ बस्तीमा नराम्रो असर परेको हो । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ ।

त्यस्तै खेतबारीमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका जिल्लाको गाउँबस्तीमा स्थानीयवासी जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खरपातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् भने गरिब टोल बस्तीमा खानपान र जीवनयापनको समस्या हुन थालेको छ ।

जिल्लाको गौशाला, बर्दिबास, मनरासिस्वा, भङ्गाहा, पिपरा, लोहारपट्टी र जलेश्वर नगरपालिका क्षेत्रभित्र रहेका गरिब, दलित बस्तीमा वृद्धवृद्धा कठ्याङ्ग्रिएर बिरामी हुने क्रम बढ्न थालेको छ भने ती बस्तीमा न्यानो लत्तकपडा र खानपिनको पनि समस्या हुन थालेको बस्तीका बासिन्दाले बताएका छन् ।

तराईका विभिन्न जिल्लाका गरिब दलित बस्तीमा प्रत्येक वर्ष जाडोका बेला न्यानो लत्ताकपडा, ओढ्ने ओछ्याउने र पोषिलो खानपिनकै अभावमा मानिसकाे ज्यान जाने गरेको छ । विगत पाँच दिनदेखि बढ्दै गएको जाडोबाट जिल्लावासीलाई जोगाउन जिल्ला दैवी प्रकोप समिति वा अन्य कुनै पनि सरकारी गैरसरकारी सङ्घसंस्थाले अहिलेसम्म कुनै पनि कदम चालेका छैनन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया