वाणिज्य बैंकले गरे लाभांश घोषणा : नबिलले ३८ प्रतिशत दिँदा सिभिलले ५ प्रतिशत दिने

 पुष ६, २०७८ मंगलबार १८:४२:५६ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गएकाे आर्थिक वर्षकाे नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । 

देशका २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् । घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारण सभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारण सभाको तयारीमा छन् । 

सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नबिलले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर तथा चार दशमलव चार प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै गएकाे आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद हुने बैंकले जनाएको छ । 

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । धैरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २० प्रतिशत बोनस र एक दशमलव ०५२६ प्रतिशत नगद गरी २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७ दशमलव ८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । 

नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनस तथा तीन दशमलव ३८९ प्रतिशत नगदसहित १६ प्रतिशत र सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा तीन दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने जनाएका छन् । 

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर तथा तीन दशमलव तीन प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत, एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५ लभांश वितरण गर्ने घाेषणा गरेका छन् । 

नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र तीन दशमलव पाँच प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १३ दशमलव तीन बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

बैंक अफ काठमाण्डाैले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आईएमई बैैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले दश प्रतिशत बोनस तथा तीन दशमलव शून्य ६ प्रतिशत नगद गरी १३ दशमलव शून्य ६ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । मेगा बैंकले दश प्रतिशत बोनस तथा दुई दशमलव शून्य सात नगदसहित १२ दशमलव शून्य सात प्रतिशत आफ्ना शेयरधनीलाई दिने भएको छ ।

लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा तीन दशमलव पाँच नगद गरेर ११ दशमलव पाँच प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगद, कुमारी बैैंकले ६ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने बताएका छन् ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद र सनराइज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् । 

सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले पाँच दशमलव ७५ प्रतिशत बोनस तथा शून्य दशमलव तीन प्रतिशत नगद गरी ६ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै नेपाल एसबीआई बैंकले तीन दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

घोषणा भएका लाभांश नियामकको अनुमति र साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् । शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) को दिनसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खाता र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुन्छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया