व्यवस्था होइन, देशकाे अवस्था बदलौँ : महामन्त्री शर्मा

 पुष ७, २०७८ बुधबार १८:८:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले देशमा राजनीतिक व्यवस्था नभइ अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन आवश्यक भएको बताउनुभएको छ ।

महामन्त्री पदमा निर्वाचित भएपछि आज बुधवार पहिलो पटक गृह जिल्ला आउनुभएका उहाँले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गर्नुभएको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनर्स्थापनाको भ्रम नफैल्याउन आग्रह गर्नुभयो । संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो चुनावबाट बहुमत ल्याएर देशकाे आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाइ गर्ने उहाँको भनाइ थियो ।

‘ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको जिल्लामा बधाई थाप्न पनि आएको होइन’, महामन्त्री शर्माले भन्नुभयो, ‘जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यही बेला बधाई पाउने हक राखुँला तर अहिलेलाई तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न आएको हुँ, शुभकामना लिन आएको हुँ ।’

उहाँले पार्टीको १४ औँ महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार/जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेदपूर्ण व्यवहार नगर्न अनुरोध गर्नुभयो । उहाँले आफूलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताउनुभयो ।

उहाँले झापा जिल्ला विद्रोहको विम्ब भएको र देशको प्रजातान्त्रिक एवम् वामपन्थी आन्दोलनको विद्रोह झापामै भएको उल्लेख गर्दै आफूले महामन्त्रीको उम्मेदवार हुँदै गर्दा वाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभयो । 

काठमाण्डाैबाट आज चन्द्रगढी विमानस्थलमा आइपुग्दा उहाँलाई कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । उहाँले त्यहाँबाट मेची बहुमुखी क्याम्पसको हातामा पुगेर विसं २०४६ का शहीद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण र श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

चन्द्रगढी विमानस्थलमा हवाई जहाजबाट ओर्लिनासाथ उहाँले भुइँमा निधारले ढोगेर गृहभूमिप्रति अगाध श्रद्धा व्यक्त गर्नुभएको थियो । ‘जुन धरतीले मलाई जन्मायो, जुन माटोमा मैले हुर्किने र खेल्ने मौका पाएँ, त्यही माटोप्रति मेरो श्रद्धा हो यो’, उहाँले भन्नुभएको थियो । आभार व्यक्त गर्न बिर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा मञ्च खाली राखेर उहाँ र अतिथिहरू आम कार्यकर्ता बसेकै लहरमा बस्नुभएको थियो । मञ्चमा शहीदका तस्बीर मात्र राखिएको थियो । कार्यक्रममा स्वागत मन्तव्यसमेत २०६२/०६३ को जनआन्दोलनका शहीद राजन गिरीका पिता शमशेर गिरीले राख्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया