बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामरा चोरी

 पुस ७, २०७८ बुधबार १९:२२:४९ | रासस
unn.prixa.net

फाइल फाेटाे

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 

निकुञ्जमा गएकाे मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न ठाउँमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ । आज बुधवार पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामरा हराएको जानकारी दिनुभयो । 

बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामरा राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । आचार्यले बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामरा राखिएको जानकारी दिनुभयो । 

निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामरा राखेको आचार्यले बताउनुभयो । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामरा अन्य प्रयोजनका लागि काममा नआउने बताउनुभयो । क्यामरा जडान गरिएको तेस्रो दिनमा क्यामरा हराएको भन्दै क्यामराको सुरक्षा गर्नु सबैको दायित्व भएको आचार्यले बताउनुभयो । 

बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको ठाउँमा एउटै बाघलाई दुई वटा क्यामराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । 

चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि झन्डै तीन महिना समय लाग्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले अहिले १३ ठाउँमा क्याम्प राखेर बाघ सर्वेक्षणको काम भइरहेको जानकारी दिनुभयो । एउटा क्याम्पमा गणक र प्राविधिकसहित आठ जनाको टोली परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजिताअनुसार ९३ वटा बाघ छन् । 

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या दुई सय ५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ वटा पुगिसकेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया