संसद् बैठकमा सभामुखको त्यो आग्रह...

 पुष ७, २०७८ बुधबार १९:५८:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोध कायमै छ । संसदमा देखिएको अवराेध हटाउन सभामुख अग्निप्रसाद सापकोटाको पहलकदमीलाई एमालेले अस्वीकार गर्दै आएको छ ।

संसद् खुलाउन सभामुखले बोलाउनुभएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरिरहेको छ । नवौँ अधिवेशनभर संसदमा एमालेको अवरोध कायम रह्यो । सङ्घीय संसद्को दशौँ अधिवेशन गएकाे मङ्सिर २८ गतेदेखि सुरु भएको छ । दशौँ अधिवेशनको तेस्रो बैठकसम्म एमालेले लगातार संसद् बैठक बहिष्कार गर्दै आएको छ । 

बैठकको काम कारबाही प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले रोस्ट्रम घेराउ गरी नाराबाजी गर्दै आएका छन् । सभामुख सापकोटाले प्रत्येक बैठकमा जनप्रतिनिधिमूलक संस्था संसद्लाई सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै आउनुभएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा पनि सभामुखले आफ्ना मतभेदलाई राख्ने र अरूका कुरा सुन्न प्रतिपक्षी सांसदसँग अनुरोध गर्नुभयो । 

सभामुख सापकोटाले लोकतन्त्र सिद्धान्त मात्र नभएर पूर्ण पारदर्शी प्रक्रिया र समन्यायिक परिणामको औजार रहेको उल्लेख गर्दै यस सिद्धान्तलाई लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलोको रूपमा रहेको सङ्घीय संसद्ले अनिवार्य रूपमा बुझ्नुपर्ने बताउनुभयो । ‘परिस्थिति र परिवेश सधैँ एकै रहँदैन । समसामयिक रूपमा परिस्थिति अनुकूल राष्ट्रिय हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु संसद्को प्रमुख कर्तव्य पनि हो । उल्लिखित विषयवस्तु मनन गर्दै सहज सभा सञ्चालनमा सहयोग गर्न सम्पूर्ण सदस्यको ध्यानाकर्षण गराउन चाहन्छु’, उहाँले भन्नुभयो ।

जनप्रतिनिधिहरूका सर्वोच्च निकाय सङ्घीय संसद् एवम् संसद् सदस्यले स्वीकृत विधि, पद्धति एवम् प्रक्रिया पालना गर्ने कुरामा अझै बढी संवेदनशील एवम् प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिँदै सभामुखले सभाको नियमित प्रक्रियामा प्रवेश गरी आफ्ना असहमतिलाई सुव्यवस्थित ढङ्गबाट राख्न अनुरोध गर्नुभयो । उहाँले नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषयमाथि सङ्घीय संसद्को कुनै सदनमा छलफल गर्न बन्देज गरेको विषय स्मरण गराउनुभयो । 

‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले बोल्न पाउनुपर्छ, जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधि सभामा अवराेध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा हुने खतरा पैदा भएको छ’, सभामुख सापकोटाले भन्नुभयो, ‘विशेष रूपमा यो बैठकलाई प्रभावकारी बनाउन, संसद् सञ्चालन गर्नका लागि म तपाईँहरूलाई विशेष रूपमा आग्रह गर्दछु ।’

गएकाे साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।

सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षीको विरोध जारी रहिरहँदा संसद्को काम कारबाही कार्यसूचीमा प्रवेश गरेको थियो । बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८’ र ‘रेल्वे अध्यादेश २०७८’ अध्यादेश बहुमतले स्वीकृत गरेको छ । संसद्को अर्को बैठक यही पुस १८ गतेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया