दाङ : कर्तव्य ज्यान मुद्दाका कैदी प्रहरीकै माेटरसाइकल लिएर भागे

 पुस ९, २०७८ शुक्रबार १२:१६:१३ | रासस
unn.prixa.net

दाङ - दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजाे अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।

परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको छ ।

घटनाबारे चौधरीले दिउँसाे ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।

परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया