सीमा विवाद भइरहँदा पनि चीन र भारतबीच अहिलेसम्मकै धेरै व्यापार, भारतको घाटा उच्च

 पुस १०, २०७८ शनिबार १७:५१:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सीमा क्षेत्रमा भइरहेको तनावका बीच पनि यो वर्षको ११ महिनामा भारत र चीनको व्यापार इतिहासमै सबैभन्दा धेरै भएको छ । वर्षभरि नै भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहे पनि दुई देशबीच अहिलेसम्मकै धेरै व्यापार र व्यापार घाटा भएको भारतीय सञ्चारमाध्यम भास्कर डटकमले जनाएको छ ।

जनवरीदेखि नोभेम्बरसम्म भारत र चीनबीच आठ लाख ५७ हजार करोड भारतीय रुपैयाँको व्यापार भएको छ र यो अघिल्लो वर्षको ११ महिनाको तुलनामा ४६ दशमलव चार प्रतिशतले धेरै हो । यसमा भारतले आयात गर्ने हिस्सा निकै धेरै छ । भारतले ११ महिनामा ६ लाख ५९ हजार कराेड भारुको सामान चीनबाट आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले धेरै हो ।

चीनले भने भारतबाट जम्मा एक लाख ९८ हजार करोड भारुको सामान किनेको छ । भारत र चीनबीच अहिलेसम्मकै धेरै चार लाख ६१ हजार करोड भारुको व्यापार घाटा भएको खबरमा उल्लेख छ । सीमा क्षेत्रमा भारत र चीनबीच यो वर्ष निकै तनाव भएको र दुवै देशले ५० हजार जना भन्दा धेरैका दरले सैनिक परिचालन गर्दा पनि यति धेरै व्यापार हुनुलाई महत्वका साथ हेरिएको खबरमा उल्लेख छ ।

चीन सरकारले सार्वजनिक गरेको सन् २०२१ को वैदेशिक व्यापारको आँकडामा भारतसँगको व्यापार निकै फाइदाजनक रहेको उल्लेख छ । व्यापार बढाउनको लागि भारत र चीन हाइ लेभल इकोनमिक एण्ड ट्रेड लायलग एचईटीडी बनाउन राजी भएका छन् । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया