पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

 पुष ११, २०७८ आइतबार ८:५५:५२ | रासस
unn.prixa.net

फाइल तस्बिर

पाँचथर - भारतसँग सीमा जोडिएका पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

केही दिनअघि हलुका वर्षा भएपछि अस्ति साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।

पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु बिन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ । याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमा समेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले जानकारी दिनुभयो ।

'हिउँ धेरै दिनचाहिँ रहँदैन । तर यसपालि चाँडै हिमपात सुरु भयो' उहाँले भन्नुभयो, 'हिमपातपछि चिसो अत्याधिक बढेको छ ।' हिमपात भएका क्षेत्रमा चौँरी तथा भेडीगोठ छन् । तर चिसो बढ्ने भएपछि गएकाे कात्तिकबाटै गोठ गाउँबस्तीको नजिक सारिएका छन् । 'गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो', उहाँले भन्नुभयो ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन् ।

बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा बर्सेनि जस्तो हिमपात हुने गरेको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया