जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो

 पुस १३, २०७८ मंगलबार १७:२:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – जडीबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र त्याे नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो । 

कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवम् आधुनिकीकरणबाट अहिलेकाे अवस्थामा आइपुगेको र यसले आउँदा दिनमा समेत नाफा बढाउनाका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाँड्न सक्ने अवस्थामा पुग्ने बताइएको छ । कम्पनीले आव २०७६/०७७ मा खुद नाफाबाट सात लाख रुपैयाँ बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो । 

न्यून जनशक्ति र साधन तथा स्रोतलाई अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन 'सञ्चो' लगायत अन्य उत्पादनका सामग्रीको बिक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी सबल बन्दै गएको बताइएको छ । नियमित लेखापरीक्षण, प्रविधिको प्रयोग तथा वितरण प्रणालीमा गरिएको सुधारले कम्पनीको क्षमता विस्तार भएको र बजारमा राम्रो प्रदर्शनी गरिएको जनाइएको  छ । 

‘नियमित लेखापरीक्षण गरी त्यसकाे प्रतिवेदन समयमै महालेखा परीक्षकको कार्यालयमा पेस गरिएको, लेखा प्रणालीलाई सुधार गरी सफ्टवेर निर्माण गरिएको, विगत २८ वर्षदेखि हुन नसकेको साधारण सभा सम्पन्न भएको र प्रत्येक वर्ष नियमित साधारण सभा समयमै सम्पन्न गरिएकाले स्थापनाको पुरानो शेयर संरचनालाई सुधार तथा परिमार्जन गर्ने दिशामा कम्पनी अग्रसर छ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पुँजी वृद्धिका लागी सर्वसाधारणलाई शेयर निष्कासन गर्ने तयारी गरेको छ । 

यस कम्पनीमा अहिले नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् । 

सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको २०७८ को सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदनमा पनि यस कम्पनीले आव २०७७/७८ मा एक करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • इन्द्र साउद

    Dec. 28, 2021, 7:08 p.m.

    बडो‌ राम्रो कुरा सुन्न पाईयो बजारमा प्रचलित ओषधि सन्चो ले मान्छेको मन जित्न सफल भएको छ यस्तै राम्रो ओषधी फेरी पनि बनोस ‌सिंहदरबार बैध खाना भन्दा अग्रसर रहेर काम गर्ने अपेक्षा का साथै सम्पुर्ण कर्मचारीहरुलाई धन्याबाद का साथ साथै उज्वल भबिश्यको कामनाका साथै फेरी राम्रो खबर सुन्न पाउ हार्दीक शुभकामना । जय आयुर्वेद

  •  0 Reply

तपाईको प्रतिक्रिया