अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच आज टेलिफोन संवाद हुने

 पुस १५, २०७८ बिहिबार १३:५७:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ।

बाइडेनले आफ्ना रुसी समकक्षीलाई कुटनीतिक मार्ग प्रस्ताव गर्ने तर सीमामा रुसी सेनाको उपस्थितिबाट गम्भीर चिन्तित रहेको सन्देश दिइसकेको अमेरिकी अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका प्रतिक्रिया दिन तयार रहेको प्रतिक्रिया पनि दिइसक्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हिजो बुधवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनको सिमानामा रुसले सैन्य तैनाथी गर्दा युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि अमेरिकाको अटल समर्थन दोहोर्‍याउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया