नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
नवलपरासी – विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।
विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो ।
प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ ।
विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् ।
सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुर्व्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको थियो ।
गएकाे मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।
शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुव्र्यवहार र हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ ।
तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गर्नुभयो । यसबारे शिक्षा विकास तथा समन्वय एकाइमासमेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिनुभयो ।
विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।