चिनियाँ खाद्य सामग्रीको आयात बढ्यो, पाँच महिनामा माछाकाे अचार मात्रै १४ टन भित्रियाे

 पुस २३, २०७८ शुक्रबार ११:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकाबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा १ सय १५ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्यांक अनुसार फूल तथा सागपातजन्य वस्तु ३२ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य १५ दशमलव ४ टन, मसलाजन्य ६ दशमलव ८, मासुजन्य २ दशमलव ४, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २३ दशमलव ५ टन खाद्य सामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा गत वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इम्पाेर्ट पर्मिट नलिएकाहरुको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको संख्या बढेको उहाँको भनाइ छ ।

गएकाे आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिर मसान्तसम्ममा ३८ टन मात्र खाद्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांक छ ।

सामग्रीको नमूना परीक्षण बढ्यो 

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमूना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा कार्यालयले १ सय २८ थान खाद्य सामग्रीको नमूना परीक्षण गरेको छ । कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कात्तिकमा ६ र मंसिरमा २८ थान खाद्य सामग्रीको नमूना परीक्षण गरेको हो । आएका सामग्री सबै मापदण्ड अनुसारका छन् ।

‘कार्यालय स्थापनाको समयमा मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, उहाँले भन्नुभयो ‘अहिले गुणस्तरहीन सामग्री आएको छैन ।’ 

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । गएकाे आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ । काेराेना महामारी भन्दा पहिले दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । तर अहिले दैनिक नौवटा चिनियाँ गाडी सामग्री लिएर आउने गरेका छन् । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया