‘नेताजी’ र फेसबुक कमेन्ट

 पुस २४, २०७८ शनिबार ८:१३:३९ | दामोदर न्याैपाने
unn.prixa.net

नेताजी र फेसबुक कमेन्टको कुनै सम्बन्ध छैन
यी दुईले एकअर्कालाई चिन्दैनन् पनि 
न कहिले एकले अर्कालाई हेर्छन् 
न कहिले बोल्छन् नै
खासखुसम्म हुँदैन
आँखा हेराहेर
इसारा र सङ्केत त परको कुरा
यी दुई आकाश र जमिनजस्तै
न कहिले भेटिन्छन्
न एकले अर्कालाई छुन्छन् ।।

अनि नेताजी अर्कै दुनियाँमा पुग्छन्
जे पनि बोल्छन्
एउटा नेताजीले अर्कालाई भन्नुसम्म भन्छन्
अर्कालाई खुइल्याउँछन्
गालीसँगै धारेहात लगाउँछन्
मिल्ने भए कुटौँला झै गर्छन्
सिंहले सिकारलाई
बाघले मृगलाई
झम्टिए झैँ गर्छन्
त्यही कुरा पत्रिकामा
रेडियो, टीभी र अनलाइनमा
छ्यापछ्याप्ती आउँछन् ।।

तर नेताजी मस्तसँग निदाउँछन्
दिउँसै कानमा तेल हालेर सुत्छन्
कि आफ्नो समाचार हेर्दैनन्
हेरे पनि कमेन्ट पढ्दैनन्
वा कमेन्टलाई भाउ दिँदैनन्
साँच्ची नेताजीलाई आफन्तले केही भन्दैनन्
कि भनेको सुन्दैनन्
कमेन्टमा प्रयोगकर्ताले केसम्म लेख्छन्
केसम्म भन्छन्
तर नेताजी म ठिक छु ठान्छन्
ताल परे कमेन्टमा भिड्छन्
उल्टै सात पुस्तालाई पुग्ने गाली दिन्छन्
घण्टौँसम्म कमेन्टमा बाँझ्छन् ।।

तर नेताजी ज्यान जाला सुध्रिँदैनन्
आजभन्दा भोलि झन् कुर्लिन्छन्
नेताजीका हावादारी गफ
छेउ न टुप्पोको कुरा
यी सबैमा ताली बज्छ
नेताजीलाई झन् आत्मबल बढ्छ
बलेको आगोमा घिउ थप्ने काम हुन्छ
नेताजीलाई कुनै कुराले छुँदैन
तर फेसबुकमा कमेन्टमा आइरहन्छ ।।

अन्तिम अपडेट: बैशाख १२, २०८१

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया