कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

 पुस २५, २०७८ आइतबार ७:८:५४ | रासस
unn.prixa.net

फाइल तस्बिर

धनुषा - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सफल परीक्षण गरिएको छ ।  

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला हिजाे लामो समयसम्म थन्किएको रेलको परीक्षण गरिएको हो ।

भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट २०७७ साल असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पार्किङ गरी राखिएका रेलको आज परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको रेल्वे लिकमा रेलको परीक्षण गरिएको छ । 

रेलको सफल परीक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले छिट्टै रेल सेवा सञ्चालको तयारी भइरहेको बताउनुभयो ।'अहिले न्यूनतम आवश्यकताका आधारमा ६० कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौँ', महाप्रबन्धक झाले भन्नुभयो,'नियुक्त भएका कर्मचारीको तालिम साेमवार सञ्चालन गर्नेछौँ, तालिम दिएर ती कर्मचारीलाई काममा परिचालन गरिने छौँ ।' यसबाहेक रेल सञ्चालनका लागि भारतीय पक्षबाट समेत २४ मध्ये १४ कर्मचारी आइसकेको उहाँले बताउनुभयो ।

उद्घाटनपछि तत्कालका लागि दिनमा एकपटक आउने र एकपटक जाने गरी रेल चलाउने तयारी भइरहेको जानकारी दिँदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकताअनुसार दिनमा दुई/तीन पटकसम्म पनि रेल चलाउन सकिने बताउनुभयो ।

रेल्वे लिकमा रहेका क्लीप चोरी भइरहेको र अझै पनि ठाउँठाउँमा रेल्वे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाइ हुन सक्ने जनाउँदै उहाँले यसमा सबै पक्ष सचेत भएर सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताउनुभयो।

यसअघि गएकाे मङ्गलवार मात्र भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोंकण) का कार्यकारी निर्देशक डा मनोज सिंह नेतृत्वको टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण गरेको थियो।

भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । वर्षौँदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया