बढ्यो रेल चढ्ने रहर

 पुस २५, २०७८ आइतबार १९:५०:१६ | रासस
unn.prixa.net

फाइल फाेटाे

महोत्तरी – फेरि रेल चल्ने चर्चा चल्यो । शनिवार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे विस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो । 

‘अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि (आउने फ्रेब्रुअरी–१० तारिखदेखि) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिँदैनन् । 

‘कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौँला’, महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भन्नुभयो । शनिवार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक (चालक) बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले फ्रेब्रुअरी १० देखि सेवा सञ्चालन गरिने बताउनुभएको हो । 

‘सेवा सञ्चालनमा अब खासै अड्चन छैन, दक्ष प्राविधिक भारतबाट झिकाइएका छन्’, महाप्रबन्धक झाले भन्नुभयो । यद्यपि यसअघि पनि सेवा सञ्चालनका तिथि/मिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीका प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो पटक रेल चल्ने चर्चाले खुसी समेटेको देखिँदैन । जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलावदेवी साहको मुर्झाएको मन फेरि बौरिन्छ । कुर्था नजिकको बस्तीकी साहले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा/सुन्दा हल्ला भित्रै हराएको व्यङ्ग्य गर्नुभयो ।

रेलको कुराले कैयन पटक आफ्नो रहर मूर्छित हुने र बौरिने गरेको साहको भनाइ छ । ‘कि कहुँ, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै रह्यो)’, भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुन्नुभएकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो, ‘अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल । (अहिले पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझौँला कि रेल चल्यो) ।’ 

भारतीय सहयोगमा अझै निर्माणाधीन रहेको बर्दिबास (महोत्तरी–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दुरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । कुर्थादेखि भङ्गाहा–५ (महोत्तरी) को विजलपुरा स्टेशनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ । लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागे पनि कहिले चल्ने भन्ने कुरामा चाहिँ ठूलाबडाको भनाइ त्यति पत्यारिला नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ ।

राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताउनुभयो । धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेशन महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेशनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् ।

त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् । उमेरले ८० वर्ष टेक्दै गर्नुभएका भङ्गाहा–४ पलार बस्तीका चौठी बाँतरले पनि रेल चल्ने कुरा चलेपछि बुढ्याइँले गाँजेको शरीर फुर्तिलाे बन्ने बताउनुभयो । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने घिटघिटो नै बनेको बाँतरले बताउनुभयो । 

विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङ्गाहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा–५ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवलाई सम्झना ताजै छ । ‘हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली, (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गर्थ्याैँ, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष (करिब) जनकपुर गइएको छैन)’, उहाँले भन्नुभयो ।

अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने रामराजीको धोको छ । 

यसैबीच रेल्वे ट्र्याकमा १४ हजार जति क्लिप र नट भर्खरै चोरी भएका छन् । चोरी भएका क्लिप र नट भारतीय पक्षले फेरि लगाइदिने जनाए पनि सुरक्षा चासो भने आम सर्वसाधारणले राख्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । ‘रेल्वेको सम्पत्ति केही सङ्ख्याका रेल्वे कर्मचारी र सुरक्षाकर्मीले मात्र संरक्षण गर्न सक्दैनन्, आम जनताको चासो हुनपर्छ’, उहाँको भनाइ छ । पहिले जयनगर, जनकपुर हुँदै विजलपुरासम्म चल्ने रेल २०५८ सालको बर्खे भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको थियो । 

विसं १९९४ सालमा नेपालका वनका काठ बोगी (रेलका मालसामान राख्ने डब्बा) भारत लाने उद्देश्यले सुरु भएको यो रेल पछि यात्रु सेवामा परिणत भएको थियो । महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीय तहका बस्तीमा रेलको कुराले तत्काल जनमानसमा प्रभाव पार्छ । रेल चले आवतजावतको सुविधाको कुरामात्र नभएर आफ्नो फसलले तत्काल बजार पाउने सर्वसाधारण किसानको आश छ । ‘रेल चले हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ’, लोहारपट्टी नगरपालिका–४ का वडाध्यक्ष जीतेन्द्र चौधरीले भन्नुभयो, ‘यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।’ कुर्थाबाट ५/६ किलोमिटरको दुरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश सँगालेका छन् ।  

‘रेल चलोक त जीवन बड आसान भजायत (रेल चलेपछि जीवन सजिलो बन्नेछ)’, भङ्गाहा नगरपालिका–९ हरिनमरीका ९० वर्षीय जितन यादवले भन्नुभयो, ‘मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत (तर लाग्दैछ जीवन यसै आशैआशमा भुण्डिदैछ) ।’ तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरे पनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुझिने यादवको भनाइ छ । ‘रेल विभागका हाकिमले दुई/तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामै रह्यो’, भङ्गाहा–९ कै अजगेवा बस्तीका सत्यनारायण साहले भन्नुभयो, ‘कति सुन्नु त्यो उधारो कुरा...! रेल सञ्चालन भएपछि बुझौँला, ए अब चलेछ ।’ तर यी गुनासाबीच रेल चलेपछि आफूहरूको दिन राम्रा आउने आश भने साहको मरेको छैन । 

भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दुरीमा आउने फेब्रुअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेशनसम्म) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेबन भवन तयार भएका र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउनमात्र बाँकी रहेकाले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) को सेवा पनि चाँडै सुरु हुने महाप्रबन्धक झाको भनाइ छ ।    

यता तेस्रो खण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमीटर दुरीभित्र भने बल्ल मुआब्जाको विषय टुङ्गिएको छ । गएकाे भदौमा बर्दिबास (पुरानो बर्दिबास गाविस क्षेत्र) को मुआब्जाबारे निर्णय भएपछि अब तेस्रो खण्डको कामले पनि गति लिने कम्पनीको विश्वास छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा (अहिले भङ्गाहा नपा–४) किसाननगर (अहिले बर्दिबास–६ र ७) र धनुषाको बेङ्गाडावर (अहिले मिथिला नपा–९ र १०) पर्छ । महोत्तरीतर्फका भङ्गाहा र किसाननगरमा गएकाे वर्षमै जग्गा मुआब्जा निर्धारण गरिएर त्यसकाे दाबी गर्न जग्गाधनीलाई सूचना गरिएको हो ।

अब मुआब्जाको कुरा टुङ्गिएको हुँदा निर्माण कार्य अघि बढाउन सम्बद्ध पक्षलाई आग्रह गरिसकिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार भारत सरकारको सात अर्ब २० करोड रुपैयाँको आर्थिक सहयोगमा (सन् २०१० को इस्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिँदै गएको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया