नारायणी नदीको भङ्गालोमा दुई नयाँ प्रजातिका चरा भेटिए

 पुष २६, २०७८ सोमबार १०:२७:२२ | रासस
unn.prixa.net

ग्रेटर ह्वाइट फन्टेड गुज

नवलपरासी - यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम क्षेत्रका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र  ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिनुभयो ।

'यी दुई प्रजातिका चराहरु गएकाेवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो', उहाँले भन्नुभयो । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । 

गएकाे वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उहाँले बताउनुभयो । 'चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गएकाे वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए', संयोजक चौधरीले भन्नुभयो, 'यस वर्षको गणनामा हामीले सिम कुखुरा, सिन्दुरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निाप, कैलोटाउके हाँसलगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।' नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो । 

गएकाे वर्षभन्दा तुलनामा यसवर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी जनाइएको छ  । साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उहाँले बताउनुभयो । गएकाे वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो । 

कुनै प्रजातिका चरा गएकाे वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गएकाे वर्षको तुलनामा न्यून देखिएको चौधरीले बताउनुभयो । चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गएकाे वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो । 

निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरैनै कमी आएको चौधरीले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया