प्रदेश २ : राजधानी र नामका लागि फेरि मतदान हुने

 पुस २७, २०७८ मंगलबार १६:३२:१४ | रासस
unn.prixa.net

धनुषा – प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव फेरि मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ । दलहरूबीच मतदानका लागि प्रदेश सभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेश सभाको बैठक आउँदाे माघ २ गते बस्ने भएको छ । 

बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरूबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो ।  

प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेश सभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानीसम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । 

याे समितिले विभिन्न चरणमा गरेको छलफल तथा राजनीतिक नेतासँग गरेको बैठकमा सहमति जुटाउन नसकेपछि फेरि मतदानद्वारा नै ती प्रस्ताव टुङ्गो लगाउने दलहरूबीच सहमति भएको छ । याे समितिको पहलमा बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावलाई मतदानमै लैजाने सहमति भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो । 

समितिले प्रदेश सभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेतासँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको सचिव यादवले बताउनुभयो । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेश सभामा दुई तिहाइ बहुमत आवश्यक छ । 

तर दलहरूबीच प्रदेशको राजधानी जनकपुर कायम गर्नुपर्नेमा झन्डै–झन्डै सहमति रहे पनि नामको विषयमा फरक–फरक प्रस्ताव आएका छन् । सत्तारुढ जनता समाजवादी पार्टी, नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् । 

एक सय सात सदस्यीय प्रदेश सभामा तीनै दलको सदस्य सङ्ख्या जोड्दा ६३ जना पुग्छ । तर प्रस्ताव पारित गर्न ७० सांसद चाहिने देखिन्छ । यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ । ती दुवै दलको प्रदेश सभामा २१ जना सांसद छन् भने प्रदेशको नाम मिथिला भोजपुरा प्रस्ताव गरेको नेपाली कांग्रेससँग १९ प्रदेश सभा सदस्य छन् । 

यसबाहेक नेपाली कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेश प्रस्ताव गर्नुभएको छ । यसरी अङ्क गणितलाई केलाउँदा मधेसको प्रस्ताव ल्याएका तीनलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी वा नेकपा एमालेमध्ये कुनै एक दलले समर्थन गर्नुपर्ने हुन्छ । तर अहिलेकै अवस्थामा कुनै पनि प्रस्तावमा दुई तिहाइ पुग्ने अवस्था नदेखिएको प्राध्यापक देवनारायण यादवको भनाइ छ । 

‘सत्तारुढ गठबन्धनसँग प्रदेश २ सभामा रहेको त्यो सङ्ख्या प्रस्ताव पारित गर्न दुई तिहाइ पुग्छ’, प्राध्यापक यादवले भन्नुभयो, ‘तर गठबन्धन दलहरूभित्रै प्रदेशको नामका विषयमा फरक–फरक धारणा र प्रस्ताव छन् ।’ कुनै प्रस्तावमा सहमति नभए फेरि अघिल्लो मतदानकै जस्तै परिणाम आउने उहाँको भनाइ छ ।

यसअघि गएकाे चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेश सभामा मतदान भएको थियो । त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीति दलहरूबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान भएकाे थियाे । त्यतिखेर दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामकारणको प्रस्तावसमेत पारित हुन सकेको थिएन । ‘प्रदेशको राजधानी जनकपुर नै राख्नेमा करिब करिब सबै प्रदेश सभा सदस्यको एकमत नै रहेको देखिन्छ’, जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रदेश सभा सदस्य रामअशिष यादवले भन्नुभयो, ‘प्रदेशको नामका सन्दर्भमा पनि विभिन्न प्रस्तावमा छलफल अझै जारी रहेको छ, मतदान हुने बेला पनि सहमति गरेर मधेस प्रदेशको प्रस्ताव पारित गराउने पहल जारी राख्छौँ ।’

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया