अफगानिस्तानका झन्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जापछि पेसा परिवर्तन गरे

 पुष २७, २०७८ मंगलबार १८:५६:६ | एजेन्सी
unn.prixa.net

तालिबानले  सत्ता नियन्त्रणमा लिएपछि झन्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेसा परिवर्तन गरेका छन् ।

अफगानिस्तानको पत्रकार फाउन्डेशनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका निम्ति अन्य पेसाको सहारा लिन बाध्य भएको  खामा प्रेसले उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक सङ्कटका कारण बन्द भएको तथ्याङ्कले देखाएको छ ।

‘(पूर्व) सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा छ वटा रेडियो स्टेशन बन्द भएका छन् - तीमध्ये पाँच वटा आर्थिक चुनौतीका कारणले सञ्चालनमा रोकिएका छन् र बाँकी कर्मचारीको अभावले बन्द भएको छ’, पूर्वी अफगानिस्तानमा रहेको अफगान पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरीफीले उल्लेख गर्नुभएको छ ।

फाउन्डेशनको निष्कर्षले के देखाएको छ भने अफगानिस्तानका पत्रकारहरूमध्ये ९१ प्रतिशतले यो पेसा रोजेकोमा सन्तुष्ट छन् भने आठ प्रतिशत मात्रै खुसी छैनन्, खामा प्रेसले उल्लेख गरेको छ । 

अफगानिस्तानभर चार सय ६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये तीन सय ९० पुरुष र ७२ महिला थिए ।

केही पत्रकारहरूले आफ्नो आर्थिक स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै धेरै मिडिया आउटलेटहरूले हालसालै सञ्चालन रोकेकाले आफ्नो जागिर गुमाएको उल्लेख गरेको टोलो न्युजले रिपोर्ट गरेको छ ।

फाउन्डेशनले अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिनामा अफगान पत्रकारहरूको पेसागत जीवनको मूल्याङ्कन गरेको थियो र उनीहरू कमजोर आर्थिक अवस्थाका कारण सबैभन्दा खराब जीवन बिताइरहेको पत्ता लगाएको थियो ।

फाउन्डेशनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई आह्वान गरेको  पनि खामा प्रेसले रिपोर्ट गरेको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया आउटलेटहरू सञ्चालन गर्न बन्द गरेको र ८० प्रतिशत महिला पत्रकार र सञ्चारकर्मी बेरोजगार भएको देखाएको छ। 

सर्वेक्षणअनुसार, कुल दुई सय ३१ मिडिया आउटलेटहरू बन्द गर्नुपरेको छ र ६, हजार चार सयभन्दा बढी पत्रकारहरूले अगस्ट १५ देखि आफ्नो जागिर गुमाएका छन् । महिला पत्रकारहरू सबैभन्दा बढी मारमा परेका छन्, पाँचमध्ये चारले काम गुमाएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया