नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – श्रीमान-श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिई सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ ।
आफूलाई थाहा नै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो । उहाँले रुँदै भन्नुभयो, ‘मलाई थाहा नै नदिई कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।’ भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराउनुभएको छ । उहाँले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराउनुभएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।
आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद । श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिई राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानका विरुद्ध उत्रिन बाध्य भएको बताउनुभयो ।
२०४४ मा आफूहरूको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमानले २०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करिब दुई वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर फर्किएको उहाँले बताउनुभयो ।
घरमा आएपछि आफूलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछि मात्रै आफूले थाहा पाएको बताउनुभयो ।
बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको पनि उहाँले बताउनुभयोे ।
अदालतका से्रस्तेदार आचार्यले भन्नुभयो, ‘बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रो पटक आदर्श समाज दैनिकमा २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र ०७४ वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।