सुरु भयो खोले सागको व्यावसायिक खेती

 पुस २८, २०७८ बुधबार २०:३१:३४ | रासस
unn.prixa.net

बाग्लुङ – गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुन थालेको छ । खोला र पानीको मूल छेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै  उब्जाउन थालेका  छन् ।

बाग्लुङ नगरपालिका ३ रातामाटाका ६ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झन्डै डेढ रोपनीमा साग लगाइएको वैकुण्ठ सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले साग बेच्नलाई ठिक्क भएको छ । किसान बजार पठाउने सुरमा छन् ।’ 

छिपछिपे खेत र मूल वरिपरि खोले साग पहिलेदेखि नै उम्रे पनि रातामाटावासीलाई उती वास्ता थिएन । कतिले त यो खाने साग हो भन्नेसमेत पत्तो पाउँथेनन् । अलिअलि गर्दै टिप्ने, खाने चलन बस्यो । त्यसको मिठोमसिनो स्वाद सबैले रुचाए । खोले सागले विस्तारै महत्त्व पायो ।

सहर छेउको बस्ती भएर पनि होला त्यहाँका लागि खोले साग नौलो थियो । ‘खेतका मूलमा अलिअलि हुन्थ्यो, पहिले त यत्तिकै खेर जान्थ्यो, खान हुन्छ भन्ने पनि थाहा थिएन, अहिले बजार पाउन थालेपछि व्यावसायिक खेती थालेका हौँ’, सापकोटाले भन्नुभयो ।

उहाँले पानीको मूल र खेतको सिममा यो साग फस्टाउने गरेको बताउनुभयो । ‘एक पटक निकालेपछि २०÷२५ दिनमा फेरि तयार भइसक्छ, छिपछिपे पानी हुने ठाउँमा खोले साग बाह्रैमास हुन्छ’, उहाँले भन्नुभयो । सापकोटासँगै प्रेम केसी, सरोज पौडेल, मनोज शर्मा, देवेन्द्र किसानलगायत खोले यो सागका खेतीमा लागेका छन् ।

भर्खर खेती सुरु गरेका किसान व्यावसायिक रूपमा सफल हुनेमा ढुक्क छन् । प्रतिकिलो सागको एक सय र आधा किलोको ५० रुपैयाँ मूल्य राखेका छन् । ग्राहक आएमा खेत या घरबाटै साग उपलब्ध गराउँछन् । उत्पादन बढ्दै गएमा बजार पठाइने किसान सापकोटाले जानकारी दिनुभयो । 

सागको खेती गरेको थाहा पाएपछि बजारबाट माग आउन थालेको उहाँको भनाइ छ । बाग्लुङ बजार नजिकै भएकाले बेच्नलाई समस्या छैन । तरकारी पसलले पनि किसानबाट साग उठाउन सक्छन् । तरकारी तथा फलफूल व्यवसायी विजय आलेले अहिले कास्कीको लुम्ले र नयाँपुल क्षेत्रबाट खोले साग बाग्लुङ बजार आउने गरेको जानकारी दिनुभयो । जिल्लामा खोले सागको व्यावसायिक खेती खासै नभएकाले बाहिरबाट ल्याउनुपरेको उहाँले भनाइ छ । 

‘केही–केही ठाउँमा अहिले खेती हुन थालेको छ, किसानले व्यावसायिक उत्पादन बढाए बजारको समस्या हुँदैन’, उहाँले भन्नुभयो, ‘उपभोक्ताले खोले साग खोजीखोजी किन्छन्, सर्दीको गुण भएकाले जाडोयाममा बढी खोजी हुन्छ ।’

व्यवसायी आलेको अनुभवमा केही वर्ष अघिसम्म खोले साग बजारको चल्तीमा थिएन । पछिमात्रै यसले व्यावसायिक प्रवेश पाएको हो । अहिले त रोज्जा सागमा खोले साग पर्न थालेको छ । फागुन–चैततिर यसको माग उच्च हुने गरेको छ । पसलले पनि एक मुठ्ठा सागलाई सय रुपैयाँमा बेच्ने गरेका छन् । किसानबाट केही कममा ल्याएर व्यावसायीले नाफा निकाल्छन् ।

सहरिया उपभोक्ता माझ पनि रोजाइमा परेको खोले साग खासमा के हो त ? कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत कुमार पुनले भन्नुभयो, ‘खोले साग, रायो, तोरीलगायतको परिवार एउटै हो, खोला र सिमसार क्षेत्रमा पाइने भएकाले खोले साग भनिएको हो ।

कतै खोले सागलाई ‘सिम साग’ पनि भनेर चिन्ने गरिएको उहाँको भनाइ छ । परम्परागत रूपमा टिप्ने, खाने चलन रहे पनि खोले सागको व्यावसायिक खेती पछि आएर मात्र भएको बागवानी अधिकृत पुनले बताउनुभयो । ‘बजार माग बढेपछि खोले सागको व्यावसायिक उत्पादन बिस्तारै बढ्दो छ’, उहाँले भन्नुभयो, ‘खोला आसपास र सिमसिम पानी हुने खेतमा यसको खेती हुन्छ, धेरै लगानी र मेहनत पनि चाहिँदैन ।’

खोले साग विषादीरहित हुने भएकाले स्वादिष्ट र स्वास्थ्यवर्द्ध हुने पुनको भनाइ छ । खोले सागको सेवन कब्जियत, कुपोषण, आँखाको समस्या भएकालाई लाभदायक हुने ठानिन्छ । खोले सागमा रोगव्याधि लाग्ने खतरा पनि निकै कम हुन्छ । कुनैताका पहिचान र महत्त्व नपाएर त्यसै नास भइरहेको खोले सागले बजार पाउँदा किसान खुसी छन् । खोले साग कमाइको स्रोत बनेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया