नबिलसँग गाभिने भयाे नेपाल बङ्गलादेश बैंक

 पुस ३०, २०७८ शुक्रबार ९:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । हिजाे बिहीवार प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको एक सय कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरमा रहेकाे एक होटलमा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आईएफआईसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन । याे बैंकको शेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ ।

समझदारीसम्बन्धी जानकारी आज शुक्रवार नेपाल राष्ट्र बैंकलाई गराउने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बङ्गलादेश बैंक प्राप्ति गर्न लागेको हो । यसअघि ग्लोबल आईएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेको थियो ।

वित्तीय स्थिरताका लागि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कम गर्ने नीति केन्द्रीय बैंकले लगातार अगाडि बढाइरहेको छ । त्यही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । पूर्वगभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा ग्लोबल र जनता बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार गरेको थियो ।

प्राप्त जानकारीअनुसार दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ बराबर पुग्नेछ । अहिले नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने नेपाल बङ्गलादेश बैंकको नौ अर्ब चार करोड रुपैयाँ छ ।

गएकाे आवको नाफाबाट नबिलले ३३ दशमलव ६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस आधारमा लाभांशपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपछि नबिल बैंकको निक्षेप तीन खर्ब नौ अर्ब रुपैयाँ बराबर पुग्नेछ भने कर्जा दुई खर्ब ८८ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको शाखा एक सय ३५ वटा छन् भने एटीएम एक सय ८५ वटा छन् ।

यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटीएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ । यस्तै हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया