अकबर वीरबलको कथा केलाउँदा

 माघ १, २०७८ शनिबार १३:५३:५३ | सुषमा रिसाल सापकोटा
unn.prixa.net

'के छ त वीरबल खोपाको स्याउ ?'

'के हुनु महाराज चर्पीको हाउ !'

यो रोचक संवाद मुगल बादशाह अकबर र उनका मन्त्री वीरबलबीच भएको मानिन्छ । भारतीय इतिहासका सर्वाधिक चर्चित र शक्तिशाली बादशाह अकबर र उनका चतुर मन्त्री वीरबलको जोडीबारे नसुन्ने, नजान्ने शायदै कोही होला । त्यही जोडीको हासपरिहासयुक्त घातप्रतिघातमा आधारित स्याउ र हाउको तुक्काबन्दीमा कथिएको कथा चाहिँ यस्तो छ : 

वीरबललाई स्याउ असाध्यै मीठो लाग्थ्यो रे । एक दिन अकबरको दरबारको खोपामा राखेको स्याउ देखेर वीरबलले मन थाम्न सकेनन् रे । पल्याकपुलुक हेरेर कसैले देखेको छैन भन्ठान्दै एउटा स्याउ झिकेर खाए रे । त्यो दृश्य अकबरले देखेछन् रे । त्यसपछि जहिल्यै वीरबलाई भेट्दा अकबर ‘के छ त वीरबल खोपाको स्याउ ?’ भनेर व्यङ्ग्य गर्न थाले रे । यो सुनेर वीरबल लाजले भुतुक्क हुन्थे रे । वीरबलको यही कमजोरीबाट अकबर मज्जा लुटिरहेका थिए रे । 

घटना गराएर, उदाहरण दिएर हुन्छ कि कुराको जाल बुनेर हुन्छ प्रतिपक्षलाई एक भन्नु न दुई भन्नु पार्न सक्ने अदभूत क्षमताका धनी, चतुर कुटनीतिज्ञ, हाजिरजवाफ, प्रत्युत्पन्नमतिका वीरबल व्यङ्गयवाणले घायल भएर बसिरहँदा हुन् त ? लामो सङ्गत भैसकेकोले दुवैलाई एक अर्काको कमजोरी थाहा थियो । बादशाह अकबर अँध्यारोमा असाध्यै डराउँछन् भन्ने वीरबललाई थाहा थियो । त्यही कमजोरीको फाइदा उठाउँदै वीरबलले खोपाको स्याउको जवाफ दिने विचार गरेर योजना बनाएछन् । 

राति चर्पी गएका अकबरलाई कालो न कालो भुत्लै भुत्ला भएको भयङ्करको भूतले ‘हाउ’गरेर तर्सायो रे । अकबर डरले कहालिँदै, चिच्याउँदै बेपत्तासँग भागेर आएर खोपीमा बसे रे । उनको हंशले ठाउँ छाड्यो रे । त्यसपछि दोर्याएर चर्पी जाने आँटसम्म पनि गरेनन् रे उनले । 

अर्को दिन सधैँझैँ वीरबललाई देख्ने बित्तिकै अकबरले ‘के छ त वीरबल खोपाको स्याउ ?’ भनेर उडाएछन् । यो सुनेर निहुरमुन्टी नहुने वीरबलले अकबरसँग आँखा जुधाएर जवाफ दिए रे, ‘के हुनु महाराज चर्पीको हाउ ।’ राति चर्पीमा देखिएको ‘हाउ’वीरबलद्वारा प्रायोजित रहेछ भन्ने बुझ्न अकबरलाई बेर लागेन । यसरी ‘तैँ चुप मैँ चुप’मा कथा सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला भएछ । 

अकबर–वीरबलसम्बन्धी यस्ता कथा कति छन् कति । कथा पनि के भन्नु ? ती काल्पनिक नभएर इतिहासका ज्यूँदाजाग्दा यथार्थ पात्र हुन् । तर तिनका विषयमा बनेका, भनेका, सुनेका, चलेका सबै कथा यथार्थ होलान् त ? यही ‘खोपाको स्याउ र चर्पीको हाउ’को चिरफार गर्दा पनि यो यथार्थ थियो कि काल्पनिक ? प्रश्न उठ्छ । जहिल्यै वीरबलबाट मात खाने अकबर को थिए ? उनका पुर्खा को थिए र कहाँबाट आए ? के के गरे ? इतिहासको त्यो कालखण्डलाई खोतल्ने प्रयास गर्यो भने अकबर वीरबलको जोडीमाथि उठ्ने प्रश्नको जवाफ भेटिन्छ । 

अकबरको पूरा नाम जजालुद्दीन मुहम्मद अकबर हो । हाल मध्य एशियास्थित उज्वेकिस्तान, उहिलेको तुर्किस्तानको सानो ठाउँ फरगानाका सरदार उमर शेख मिर्जाका छोरा जहरुद्दीन मुहम्मद बाबर अकबरका हजुरबा थिए । शेख मिर्जाको मृत्युपछि फरगानाको सरदारी प्राप्त हुँदा बाबर १२ वर्षका थिए । शेख मिर्जा खुँखार लडाकु तैमुर लङका वंशज थिए भने उनकी बेगम कुतलुग निखार खानम आततायी मङ्गोल लडाकु चँगेज खाँकी वंशज थिइन् । यस्ता बहादुरहरूको रक्त मिश्रण भएका बाबरले फरगानाको सरदारीमा मात्र चित्त बुझाएनन् । उनमा विशाल राज्य स्थापना गर्ने महत्वाकांक्षा पलायो । 

उनको महत्वाकांक्षालाई उकेरा दिने काम गर्यो दिल्लीका शासक इब्राहिम लोधीका काका आलम खाँ, पञ्जावका शासक दौलत खाँ र मेवाडका राजा राणा साँगाको दिल्ली आक्रमण गर्ने आमन्त्रणले । चतुर र साहसी बाबरले यसलाई स्वर्ण अवसर ठानेर विशाल सेना लिएर दिल्ली विजय गर्ने उद्देश्यले पञ्जाब आइपुगे । इब्राहिम लोधी पनि विशाल सेना लिएर बाबरलाई रोक्न दिल्लीबाट अघि बढे । पञ्जाब नजिकै पानीपतको मैदानमा बाबर र इब्राहिम लोदीबीच भीषण युद्ध भयो । भारतीय इतिहासमा पानीपतको प्रथम युद्ध नामले चिनिने यो युद्धमा सही रणनीति अपनाएर आफूभन्दा निकै शक्तिशाली दिल्लीका शासक इब्राहिम लोदीलाई परास्त गर्न बाबर सफल भए । 

यसरी बाबरले दिल्लीमा मुगल साम्राज्यको स्थापना गरेर आफ्ना प्रिय जेठा छोरा हुँमायूलाई उत्तराधिकारी बनाए । त्यो बेलामा हुँमायू अस्वस्थ थिए । यसले साह्रै चिन्तित भएका बाबरले अल्लाहसँग छोरालाई स्वस्थ बनाइदिन, बरु त्यो रोग आफूलाई सारिदिन मन्नत मागे । अल्लाहले उनको दुवा (प्रार्थना) पूरा गरिदिए । जति जति हुँमायू स्वस्थ हुँदै आए, उति उति बाबर बिरामी भए । अन्त्यमा बाबरको निधन भयो र हुँमायू स्वतः दिल्लीको गद्दीमा आसीन भए । 

हुँमायू कुशल शासक प्रमाणित भएनन् । उनले बाबुद्वारा स्थापित राज्य जोगाउन सकेनन् । अफगान शासक शेरशाह सुरीले दिल्लीमाथि आक्रमण गरेर हुँमायूलाई पराजीत गरे । उनी स्वतः त्यहाँबाट लखेटिए र यताउता लुक्दै हिँड्न थाले । एक्लै भए त भौंतारिएर पनि निर्वाह चल्दो हो, तर वेगम हामिदा बानो गर्भवती थिइन् र बच्चा जन्मने बेला भएको थियो । त्यसैले उनी राणा वीरसालको दरबारमा वेगमलाई छाडेर शक्ति सञ्चय गर्नका लागि इरानतिर लागे । 

सन् १५४२ अक्टोबर १५ मा राणा वीरसालको महल अमरकोटमा अकबरको जन्म भयो । उनी एक वर्षका भएपछि धाइआमा माहम अनगालाई छोरो जिम्मा लगाएर हुँमायू बेगमलाई लिएर फगानिस्तानतिर लागे । शरणार्थी भएर अर्काको दरबारमा बसेका अकबरको बाल्यकाल पक्कै सुखद थिएन । केही पछिदेखि उनी कहिले काकासँग कहिले फुपूसँग बसेर हुर्कँदै गए । 

जसोतसो सहयोग जुटाएर हुँमायूले गुमेको राज्यको सानो भाग शेरशाह सुरीबाट फिर्ता लिन सफल भए । यति भएपछि उनले छोरालाई उचित शिक्षा दिने उद्देश्यले एकपछि अर्को गर्दै तीन शिक्षक नियुक्त गरे तर कसैले अकबरलाई एक अक्षर सिकाउन सकेनन् । पढाइमा राम्रो नभए पनि युद्धकला, व्यवस्थापन तथा कुटनीतिमा उनी अब्बल थिए । साहस र क्षमताकै कारण नौ वर्षमै उनलाई हुँमायूले आफ्नो उत्तराधिकारी घोषित गर्दै गजनी र पञ्जावको सुवेदार बनाएका थिए । आफ्ना अति विश्वासपात्र भारदार वैरम खाँको अभिभावकत्व र संरक्षणमा राखेर हुमायूँले अकबरलाई सानैदेखि व्यावहारिक हिसाबले नै राजनीतिक तथा प्रशासनिक तालिम दिलाउने व्यवस्था गरेका थिए ।

केही पछि पुस्तकालयको सिँडीबाट लडेर बाबरको मृत्यु हँदा अकबर १३ वर्ष ६ महिना मात्र भएका थिए । तर उनलाई वैरम खाँजस्ता अनुभवी गुरु, इमानदार संरक्षक, योग्य प्रशासक, बहादुर योद्धाको कुशल निर्देशनमा राजकाजको तालिम प्राप्त भइरहेको थियो । अकस्मातको हुँमायूको मृत्युले मुगल राज्य स्तब्ध भयो । यस्तो विषम परिस्थितिलाई बफादार र अनुभवीभारदार वैरम खाँले कुशलतापूर्वक सम्हाले । राज्य कमजोर भएकोबेला शत्रुको आक्रमण तथा आन्तरिक षड्यन्त्र हुनसक्ने संभावनालाई ध्यानमा राखीवैरम खाँले हुँमायूको मृत्युको धेरै प्रचार नगरी पञ्जावको करनौलमा साधारण किसिमले अकबरको राजतिलक गराए ।

मुगल राज्य राम्ररी सम्हालिन पाएकै थिएन शेरशाह सुरीका उत्तराधिकारी नादिल शाहले दिल्ली कब्जा गर्न सेनापति हेमचन्द्रको नेतृत्वमा सेना पठाए । उता हेमचन्द्रले दिल्ली कब्जा त गरे तर आफ्नै राज्यमाथि विद्रोह गरेर विक्रमादित्यको उपाधि धारण गर्दै स्वयंलाई दिल्लीको सम्राट घोषित गरे । यता मुगल कुनै हालतमा दिल्ली फुत्काउने पक्षमा थिएन । तसर्थ अकबरको सेना वैरम खाँको नेतृत्वमा हेमचन्द्रसँग युद्ध गर्न दिल्लीतिर लाग्यो । दुवै तर्फका सेनाको पानीपतको मैदानमा भीषण युद्ध भयो, जसलाई पानीपतको दोस्रो युद्ध भनिन्छ । वैरम खाँको कुशल नेतृत्वमा अकबरले यो युद्धजितेर बाबरले स्थापना गरेको साम्राज्य पुनः प्राप्त गरे । अनि बादशाहगाजीको उपाधि धारण गर्दै दिल्लीको गद्दीमा आसीन भए । 

बादशाह अकबर भए पनि राज्य वैरम खाँले चलाइरहेका थिए । खाँको निष्ठाप्रति शङ्का नभए पनि वयस्क हुँदै गएका अकबरलाई उनको हस्तक्षेप मन पर्न छाड्यो । उनको नियन्त्रणबाट फुत्केर अकबर आमा हमीदा बेगम, धाइआमा माहम अनगा आदि दरबारिया स्वास्नीमान्छेको गुटको नियन्त्रणमा पर्दै गए । परिणामस्वरूप अकबरले वैरम खाँलाई अपदस्त गरेर हज गर्नका लागि मक्का पठाइदिए । दुर्भाग्य बाटोमै उनको हत्या भयो । त्यसपछिका दुई वर्ष अकबर पूर्णतः त्यही आइमाई गुटको प्रभावमा रहे । तर बिस्तारै बिस्तारै आफैँ सत्ता सम्हाल्न थाले । 

इतिहासमा अकबर धेरै गुण थोरै बैगुन भएका व्यक्तिको रूपमा देखिन्छन् । सानासाना राज्यहरू विजय गर्दै विशाल साम्राज्य स्थापना गरी स्थायित्व प्रदान गर्नु उनको ठूलो सफलता हो । विस्तारित राज्यको कुशल व्यवस्थापन नभए गुम्ने खतरा हुन्छ । त्यसलाई मनन् गरी अकबरले राज्यलाई विभिन्न प्रशासनिक एकाइमा विभाजन गरी योग्यतम योग्य व्यक्ति राज्यपाल नियुक्त गरेर जिम्मेवारी तोकिदिए । सबैतिर सेवा र सुविधा पुगोस् भन्ने उद्देश्यले घुम्ती प्रशासनिक एकाइ सञ्चालन गरे । सकेसम्म हतियारभन्दा कुटनीतिको प्रयोग गरी राज्य विस्तार गरे । उनको बढ्दो प्रभावका कारण कतिले स्वतः आत्मसमर्पण गरे ।

आफूलाई खानदानी वीर भनेर गर्व गर्ने केही राजपुतहरूले त अकबरसँग वैवाहिक सम्बन्ध स्थापना गरी उनको अधीनता स्वीकार्नुमै कल्याण देखेर आफ्ना विवाह योग्य पुत्री अकबरलाई कन्यादान गरेर पनि राज्य जोगाएका थिए । आमेरका कछवाह वंशी राजा भारमलले पुत्री जोधावाइ अकबरलाई कन्यादान गरेका थिए । पछि उनैले अकबरका उत्तराधिकारी सलिम जहाँगिरलाई जन्म दिएकी थिइन् भन्ने विवादास्पद इतिहास पढ्न पाइन्छ ।

अकबरले राज्य विस्तार मात्र गरेनन्, कुशलतापूर्वक सञ्चालनसमेत गरे । निकै सामाजिक सुधारहरू पनि गरे । राजश्वलाई व्यवस्थित र न्यायोचित तुल्याए । कृषियोग्य जमिनको उर्वरपनको आधारमा राजश्व दर निर्धारण गरी कृषिको क्षेत्रमा उल्लेखनीय सुधार ल्याए । गैरमुस्लिम समुदायमाथिको जजिया कर तथा तीर्थ कर उनले पूर्णतः हटाए ।

अकबरको दरबारमा प्राज्ञको ठूलो सम्मान थियो । उनले वास्तुकला, चित्रकला, ललितकला, सङ्गीत, साहित्य, इतिहास आदिको विकासलाई राज्यले नै संरक्षण दिने नीति अख्तियार गरेका थिए । उनको दरबारका नवरत्न यसका उदाहरण हुन् । नवरत्नद्वारा संस्कृत तथा फारसी भाषाका राम्रा र उपयोगी पुस्तकअन्य भाषामा अनुवाद गर्न लगाएर साहित्यलाई सर्वसाधारणको पहुँचमा पुर्याउने काम पनि उनले गराए ।

अकबरले सबै धर्मको सकारात्मक पक्ष समेटेर नयाँ धर्म ‘दिन ए इलाही’को सूत्रपात गर्दै क्रान्तिकारी कार्य गरेका थिए । तर त्यो धर्म मान्ने स्वयं उनी र केही अन्य व्यक्तिमात्र निस्केकाले धर्म सुधारको प्रयासले सफलता प्राप्त गर्न सकेन । उनले विवाह गरेका हिन्दू कन्याहरूलाई पनि इस्लाम धर्म अपनाउन जोड दिएनन् । उनको दरबारमा र राज्यमा पनि आफू चाहेको धर्म मान्ने छुट सबैलाई थियो । 

उनले बहुविवाह, बालविवाह, दास प्रथा र सती प्रथाजस्तो सामाजिक कलङ्कमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए, तथापि दास प्रथा उन्मूलनबाहेक अन्यमा उनलाई सफलता प्राप्त भएन । उनले महिला अधिकारको सम्मान गर्दैै मीना बजारको व्यवस्था गरेका थिए, जहाँ महिलालाई स्वतन्त्र भएर हिँड्ने, आफ्नो भावना व्यक्त गर्ने छुट थियो । 

अकबरको सम्पूर्ण कार्यको मूल्याङ्कन गर्नेले उनले गरेका सामाजिक सुधारमा उनको निजी स्वार्थ गाँसिएको भनेर आलोचना गरेका छन् । बहुविवाह, बालविवाहमाथि रोक लगाउन खोज्ने उनैले कयौँ विवाह गरेका थिए। उनको हरममा मात्रै ५ हजारजति महिला दासीतुल्य जीवन बाँच्न बाध्य बनाएर राखिएका थिए । सती प्रथा रोक्ने, मीना बजार लगाउने उनको कार्यलाई राम्रा महिला छान्ने प्रयास भनेर आलोचना भएको छ । केही युद्धमा क्रुरताको पराकाष्ठा नाघेर अकबरले गरेगराएका आमहत्याले पनि उनको आलोचना गर्ने आधार भेटिन्छ । बाबुतुल्य वैरम खाँलाई पाखा लगाउने क्रममो अरू कसैद्वारा उनको हत्या  भएपछि आमासमान उनकी बेगमसँग अकबरले गरेको विवाहको पनि आलोचना हुने गरेको छ । 

यसरी विशाल साम्राज्य स्थापना गरेर ५० वर्षसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने जलालुद्दीन मुहम्मद अकबर, अकबर ए आजम, मुहम्मद ए अकबर, शाहंंशाह अकबर, बादशाह अकबर, महाबली अकबर, जहाँपनाह अकबर, दिल ए इलाहीजस्ता ठूल्ठूला उपाधिले सुशोभित छन् । उनको नामै सुन्दा पनि डम्म दोहोरो आङ्काव्यक्तिको चित्रआउँछ आँखामा । तस्बिरमा पनि अकबर तना बाँध्ने भोटोमा कम्मरदेखि मुनि घुँडाघुँडासम्म मुजैमुजा परेको झिलिमिली नाना लगाएर, टाउकोमा सपक्क बेरेको पगडीलाई फुर्को पारेर रिबनले बाँधी चराको प्वाँख सिउरेर, अघिल्तिर घुम्रिएको चुच्चो जुत्ता लगाएर, गलामा मोतिको माला भिरेर, याँमानको जुँगामा ताउ लगाएर बडो ठाँट, रवाफले हिँड्ने हट्टाकट्टा व्यक्ति देखिन्छन् । 

चारैतिर यस्तो दबदबा बनाएर बसेका जल्दाबल्दा अकबरको दरबारमा अचानक टुप्लुक्किन आइपुगेका थिए महेश दास । पारखी अकबरले महेश दास नामको रत्न पहिचान गर्नमा कुनै गल्ती गरेनन् रदरबारको नवरत्नमा सामेल गराए । यिनै रत्न पछि गएर वीरबलको नामले प्रसिद्ध भए । वीरबल भनेपछि दुब्लो पातलो, चतुरे, कसलाई बिताऊँ, कसलाई चुना लगाऊँजस्तो अनुहार परेको मान्छेको तस्बीर मनमा उदाउँथ्यो पहिले त । उनको चित्र देखेपछि भने उनी पनि हट्टाकट्टा, याँमानको जुँगा पालेका खाइलाग्दा व्यक्ति नै रहेछन् भनेर जानियो ।

यिनै चतुर वीरबल र बहादुर अकबरलाई लिएर बनेका सबै कथा, वादविवाद, घटना, ठट्टामा सधैँ वीरबलकै जीत भएको छ । वीरबलको प्रत्युत्पन्नमतिको अघि कसैको दैया चलेको कथा कथिएकै छैन आजसम्म । वीरबलसामु बेवकूफ लाग्ने, जहिल्यै हार्ने ग्वाँच अकबर बादशाह चैँ कसरी भए भन्या ? बाठोटाठो, बुद्धिमान वीरबल पो बादशाह हुनुपर्ने हैन र ? अकबरको ठाउँमा वीरबल बादशाह भएका भए के केमात्र गर्दा हुन् ?

तर के यथार्थ यही हो त ? अहँ, होइन । अकबरले जीवनकालमा जे जति गरेका छन् वास्तवमा ती नै अविश्वसनीय लाग्छन् । प्रतिकूल परिस्थितिमा सम्राट बन्न पुगेका उनले भारतीय उपमहाद्विपमा विशाल साम्राज्य खडा गरेर ५० वर्षसम्म अकण्टक राज्य गरे । यस्ता जल्दाबल्दा, ज्यूँदाजाग्दा शासकलाई वीरबलको अगाडि पङ्गुको रूपमा चित्रण गर्नु आश्चर्यको विषय हो । कथामा मात्र हो वास्तवमा अकबर वीरबलभन्दा निकै योग्य थिए ।

अकबरको तुलनामा वीरबल उन्नाइस नै हुन् । उनी जे बने अकबरले दिएको अवसरलाई आफ्नो बुद्धिवर्गतले थपेर बनेका हुन् । सर्वप्रथम सल्लाहकारका रूपमा दरबारमा प्रवेश पाएका वीरबलको क्षमताको कदर गर्दै अकबरले नवरत्नका साथै न्याय हेर्ने मन्त्रीसमेत बनाए । कविराज र राजाको उपाधिले सुशोभित गरे । महत्त्वपूर्ण कुरो त वीरबल अकबरका अति प्रियपात्र थिए । उनलाई आफूभन्दा टाढा कहिल्यै राख्न चाहेनन् अकबरले । 

यस्ता चतुर, बुद्धिमान तथा बादशाहका प्रियपात्र वीरबलको अत्यन्त दुःखद र अकल्पनीय अन्त्य भयो । अफगानिस्तानको बाजौरमा युसुफजई लुटेराले गरेको विद्रोह दवाउन अकबरले जैन खान कोकाको नेतृत्वमा सेना पठाएका थिए । अफगानीले गुरिल्ला युद्ध लडेर मुगल सेनालाई हायल कायल पारेको थियो तर जैन खान कोकाले बादशाह अकबरसमक्ष ‘हामी विजयको नजिकै पुगिसकेका थियाैँ, थोरै सहयोग पाए सफल हुन्थ्यौँ’ भन्ने गलत सन्देश पठाए । विजय नजिकै पुगेको खबरले उत्साहित बादशाहले वीरबलको नेतृत्वमा ८ हजार सेना बाजौर पठाए । 

वास्तवमा अफगानले मुगल सेनालाई आच्छुआच्छु पारिरहेको थियो । थप सहायता लिएर वीरबल आइपुगे पनि युसुफजाईले पेलेको पेल्यै गर्यो । बादशाहले फेरि अबुल फतेहको नेतृत्वमा थप सेन पठाए । तर मुगल सेना बजिलो हुनुको साटो झन् कमजोर भयो किनभने वीरबल, जैन खान र अबुल फतेहबीच सेनाको नेतृत्व गर्ने विषयमा विवाद भयो । 

त्यहाँ सबैभन्दा उच्च पदस्थ भारदार वीरबल बुद्धिमान थिए तर युद्ध कलामा निपूर्ण थिएनन् । उनले बनाएरको युद्ध नीति कसैलाई चित्त बुझेन । उनको विचारले उच्च प्रथमिकता पाउने  अकबरसामु कसैले वीरबलको विरोध नगर्नाले ‘मेरो कुरा सबैले मान्छन्’ भन्ने भ्रममा उनी थिए । अरूजस्तै उनी पनि अकबर मतहतका हुन्, भारदारले उनको विचार मानेका नभएर अकबरको निर्णय र आदेश मानेका हुन् भन्ने उनले बुझेनन् । यहाँ त्यसो भएन । उनको कुरो कसैलाई मन परेन र अरूको अधिनस्त भएर काम गर्न शायद उनलाई अहँले रोक्यो । तीनै सेनापति आआफ्नै रणनीति बनाएर लड्न थालेपछि भाइ फुटे गवाँर लुटे भनेजस्तो भयो । 

वीरबलले नेतृत्व गरेको फौजमाथि रातको समयमा अफगानले भीषण आक्रमण गर्यो । सेना सम्हालिनै नपाइ ठाउँको ठाउँ सयौँ हताहत भए । त्यहीँ वीरबलले पनि वीरगति प्राप्त गरे । शवसमेत प्राप्त हुन नसकेकोले उनको अन्तिम संस्कारसमेत हुन पाएन । यसरी वीरबलजस्ता बुद्धिमान भारदारको दुःखद अन्त्य भयो ।  

अब लागौँ खोपाको स्याउ र चर्पीको हाउको शब्दस्रोत केलाउन : 

संस्कृत गुम्फ शब्दको प्राकृत खुप्पबाट अपभ्रंश भएर बनेको खोपो वा खोपा संस्कृत तद्भव शब्द हो । नेपालीमा स्याउ भनिने शब्द फारसीको सेबबाट बनेको आगन्तुक शब्द हो । चबीको अपभ्रंश रूप चर्पी नेवारी भाषाबाट नेपालीमा आएको आगन्तुक शब्द हो । हाउ अरबी मूलबाट नेपालीमा आएको आगन्तुक शब्द हो । अकबरको साम्राज्यमा फारसी राजभाषा थियो भने तुर्की तथा आजको भारत, पकिस्तान र बङ्गलादेशमा बोलिने सबै भाषाको प्राकृतरूप प्रयोगमा आइसकेको थियो । अकबरले आफ्ना नवरत्नमध्ये एक अबुल फजललाई आफ्नो जीवनी आइने अकबरी र अकबरनामा पनि तुर्की भाषामा लेखाएका थिए । त्यसैले फारसी अथवा तुर्की भाषा बोल्ने अकबर र वीरबलबीच  खोपा, स्याउ, चर्पीजस्ता त्यहाँ प्रयोगमै नभएका शब्दहरूको तुक्काबन्दीमाबनेको माथिको संवाद बोल्ने घटना भएकै होला?

अर्को प्रश्न के पनि उठ्छ भने, अकबर हाउ भन्दैमा तर्सने खालका प्राणी थिए त ? चित्तौडका महाराणा प्रताप र अन्य केही बहादुर राजपूतबाहेक सबैलाई आफ्नो अधिनस्थ गराएका त्यस बेलाका ज्वाज्वल्यमान अकबर नै बरु सबैका लागि हाउ बनेका थिए । हरेक दृष्टिकोणले निडर अकबरको शब्दकोशमा हाउ, डर, त्राशजस्ता शब्द छँदै थिएनन् ।

चर्पी गएका अकबरलाई ‘हाउ’ गरेर तर्साएको रे, उनी तर्सेका रे । फतेहपुर सिकरी, आगराको लाल किल्लाजस्ता अहिले विश्व सम्पदा सूचीमा परेका भव्य संरचना निर्माण गराएका अकबरको चर्पी कस्तो थियो होला ?

हाम्रो गाउँघरतिर घरदेखि पर बारीको कुनामा खाल्डो खनेर मकैको ढोडले बारेर बनाएको चर्पीमा एक ट्वाक पानी बोकेर बोराको पर्दा पन्छाउँदै गएका अकबरलाई अँध्यारोमा कसैले मकैबारीबाट फुत्त निस्कोर ‘हाउ’ भनेर तर्साए जस्तो लाग्ने यो कथा अकबर वीरबलबीचको घटना हो कि कुनै चतुरे नेपालीले कलात्मक बनाएर कथेको रमाइलो कथा हो ?

अन्तिम अपडेट: असार २३, २०७९

सुषमा रिसाल सापकोटा

दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेसामा आबद्ध सापकोटा ख्वप मावि भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।

 

2 Comments

  • आतिश मिश्रा

    Jan. 15, 2022, 8:01 p.m.

    जानकारी मुलक आलेख ।

  •  0 Reply
  • Tekendra upadhyay

    Jan. 15, 2022, 5:31 p.m.

    निकै मीठो लेख । खुसी लाग्यो । ज्ञानबर्दक लेखहरु फेरि पनि पढ्न पाइयोस् । धन्यवाद !

  •  0 Reply

तपाईको प्रतिक्रिया