नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

 माघ २, २०७८ आइतबार ७:२५:३७ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १४ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्याराेमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको जानकारी दिनुभयो ।

आज सहयोग सामग्री हवाइजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।  सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाउन लागिएको हो ।

नेपालको इतिहासमा पहिलो पटक यसरी हवाइजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, 'हामी ठूला प्राकृतिक तथा दैविक विपदमा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।'  सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाउन लागिएको हो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया