प्रदेश-२ : प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीकाे प्रस्तावमा छलफल हुने

 माघ २, २०७८ आइतबार १०:३४:४१ | रासस
unn.prixa.net

धनुषा - प्रदेश-२ को प्रदेश सभाको आजको बैठकमा प्रदेशको  नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेश सभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ  ।

सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेश सभा सदस्यहरुसँग भएका छलफलका निर्णयसहितको प्रतिवेदन आजको बैठकमा पेस गर्ने प्रस्तावित कार्यसूची  छ  । यसपछि प्रदेश सभामा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश सभाद्वारा सभामुखको नेतृत्वमा गठन गरेको विशेष समितिले प्रदेशको नाम र राजधानीमा समिति जुटाउन नसकेपछि विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव मतदानबाटै टुङ्गो लगाउने सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो । 

यस समितिको पहलमा पटक पटक बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्ताव सहमति जुट्न नसकेपछि ती सबै प्रस्तावहरु मतदानमै लैजाने सहमति भएको आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।

यस समितिले प्रदेश सभामा दर्ता भएको प्रदेशको नाम मधेश, जानकी, मिथिला भोजपुरा, मध्य मधेश र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको उहाँको भनाइ छ ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेका अवस्थामा कुनै पनि प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने र प्रस्तावहरु पुनः अस्वीकृत हुने जोखिम बढेकाे बुद्धिजीवीले बताएका छन् ।  प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेश सभामा दुई तिहाइ बहुमत आवश्यक छ  । तर दलहरुबीच प्रदेशको राजधानी जनकपुर कायम गर्नुपर्नेमा करिब सहमत रहे पनि नामको विषयमा फरक फरक प्रस्तावहरु आएका छन् ।

सत्तारूढ जनता समाजवादी पार्टी, माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश राख्नुपर्ने प्रस्ताव गर्दा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यही प्रस्तावलाई समर्थन गरेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा तीनै दलको सदस्य सङ्ख्या जोड्दा ६३ जना पुग्छ । तर प्रस्ताव पारित गर्न ७० प्रदेश सभा सदस्य चाहिने देखिन्छ । तीनै दलले ल्याएको प्रदेशको नामसम्बन्धी साझा प्रस्ताव पारित गर्न सात जना सदस्य अपुग हुने अङ्कगणित देखाएको छ ।

 यस्तै, सत्तारूढ नेकपा (एकीकृत) समाजवादी पार्टी र प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ । ती दुवै दलको प्रदेश सभामा २१  सदस्य छ भने प्रदेशको नाम मिथिला भोजपुरा प्रस्ताव गरेको नेपाली कांग्रेससँग १९ प्रदेश सभा सदस्य छन् । यसबाहेक  कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेश प्रस्ताव गर्नुभएको छ ।

यसरी अङ्कगणितलाई केलाउँदा मधेशको प्रस्ताव ल्याएका तिनलाई कांग्रेस, नेकपा एकीकृत समाजादी पार्टी वा  एमालेमध्ये कुनै एक दलले समर्थन गर्नुपर्ने हुन्छ । तर अहिलेकै अवस्थामा कुनै पनि प्रस्तावमा दुई तिहाइ पुग्ने अवस्था नदेखिएकाले  प्रस्ताव पारित नहुने राजनीतिक विश्लेषक देवनारायण यादवको भनाइ छ । 

'सत्तारूढ गठबन्धनसँग प्रदेश-२ सभामा रहेको त्यो सङ्ख्या प्रस्ताव पारित गर्न दुई तिहाइ पुग्छ,' उहाँले भन्नुभयो, 'तर गठबन्धन दलहरुभित्रै प्रदेशको नामका विषयमा फरक फरक धारणा र प्रस्ताव छन्।' यस्तो अवस्थामा नामाकरणको प्रस्ताव पारित हुने सम्भावना कमजोर रहेको उहाँको कथन छ ।

प्रदेश-२ को नामका विषयमा सबै दलको आ–आफ्नै अडान रहेकाले दलीय सहमति नभएसम्म नामाकरणको विषय टुङ्गिन गाह्रो रहेको प्राध्यापक यादवले बताउनुभयो । कुनै प्रस्वातमा ठोस सहमति नभए पुनः अघिल्लो मतदानकै जस्तै परिणाम आउने उहाँको भनाइ छ । 

यसअघि गएकाे २०७७ चैत ५ गते प्रदेश-२ को राजधानी र नामाकरणको विषयमा प्रदेश सभामा भएको मतदान भएको थियो । त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीतिक दलहरुबीच नामाकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए । 

तत्कालीन बैठकमा पनि दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामाकरणको प्रस्तावसमेत पारित हुन असफल भएको थियो।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया