महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा, तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : निगम

 माघ ४, २०७८ मंगलबार १४:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले विज्ञप्ति निकालेर आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको जनाएको छ । 

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको हो । भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २ अर्ब रुपैयाँ अपुग भएको विज्ञप्तिमा उल्लेख छ । यो आउँदो जनवरी २३ अर्थात् माघ ८ गते गर्नुपर्ने भुक्तानीका लागि अपुग रकम हो । यसको व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिती देखिएको निगमले जनाएको छ । 

पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको र माघ एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताउनुभयो । मूल्य समायोजन गरिए पनि महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा रहेको उहाँको भनाइ छ । 

आउँदो तीन महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न झण्डै १२ अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने निगमले जनाएको छ । अहिले पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास प्रति सिलिण्डर ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ । निगमका अनुसार मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ ७३ पैसा नाफा छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया