ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

 माघ १०, २०७८ सोमबार १९:३४:४३ | रासस
unn.prixa.net

भक्तपुर – भक्तपुरका औषधि पसल एवम् फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन गर्‍याैँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उहाँले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोलको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार पाँच सय सङ्ख्यामा सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफूकहाँ आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’ 

ज्वरोको बिरामी बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उहाँले भक्तपुर अस्पतालमा दैनिक सात सय जनाभन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । त्यसमध्येमा दुई सय ५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उहाँले ज्वरोको बिरामी भने निकै बढेको बताउनुभयो ।   

कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जाँदा अस्पतालको शय्या भरिन थालेको छ । अस्पतालमा रहेको ६ शय्याको आईसीयू कोरोनाका बिरामीले भरिएको र आईसीयू नचाहिने काेरोनाका बिरामीको चाप पनि बढेको छ । 
    
मेसु डा. गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा हिजाे आइतवार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको छ भन्नुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया