दार्चुलामा बाक्लाे हिमपात : हिउँ पगालेर पानी खान बाध्य स्थानीय

 माघ १४, २०७८ शुक्रबार १२:२४:४५ | रासस
unn.prixa.net

दार्चुला - दार्चुलाकाे हिमाली क्षेत्रमा दुई दिन बाक्लाे हिमपात भएको छ । बाक्लो हिमपातपछि यहाँकाे जनजीवन कष्टकर भएकाे छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन भएकाे बताएका छन् । 

'सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन । हिउँ पगालेर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै बरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै, पिउँदैछौँ' एक सुरक्षाकर्मीले भने । 

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ। अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् । पहिलेकै हिउँ नपग्लिँदै थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ ।

अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किल रहेकाे बताइएको छ । यस क्षेत्रमा गएकाे वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो । गएकाे वर्ष पनि यो क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले हिउँ पगालेर  प्रयाेग गर्नुपरेको थियो ।

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ । मालिकार्जुनमा लामो समयपछि हिमपात भएको छ । स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ ।

यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ । नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताउनुभयो । हिमपातका कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको छ । सडक हिलाम्मे र चिप्लो भएको छ । 

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ । हिउँका कारण विद्यालय ढाकिएका छन् । खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिटभन्दा बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिनुभयो । यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । स्थानीयवासीले हिउँ पग्लाएर पानी खानुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया