फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

 माघ १५, २०७८ शनिबार २०:२६:२३ | रासस
unn.prixa.net

तस्बिर : रासस

रुपन्देही - भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदाे फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ ।

आज दिउँसो भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उहाँले भन्नुभयो, 'मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।' हुस्सु, कुहिरो र भिजिबिलिटी कम लागेको बेला भने फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।'

छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भन्नुभयो, 'सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छाैँ ।'

लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण जाँच गरी उडानको तयारी गर्न आग्रह गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने बताउनु भयाे । 

एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले भन्नुभयो, 'यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।'

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अहिलेसम्म आईसीपी वान र टु गरेर साढे सात अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया