आज शहीद दिवस : यसवर्ष शहीद सप्ताह औपचारिकतामा सीमित

 माघ १६, २०७८ आइतबार ७:१७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले शहीदको बलिदानबाटै नागरिकको शासन स्थापित भएको भन्दै देशमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको शहीद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको छ ।

शहीद सप्ताहको मुख्य दिन आज प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । विगतमा माघ १६ गते शहीद दिवसको दिन बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गरी लैनचौरको शहीद स्मारकमा पुगेर ज्ञातअज्ञात शहीदको सम्झनामा गरिन्थ्यो ।

यसपालि प्रभातफेरी कार्यक्रम नहुने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

शहीद सप्ताहको पहिलो दिन माघ १० गते शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गरिएको थियो ।त्यस्तै १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र हिजो शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरियो ।

एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ‍ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया