भारतमा सन् २०१९ पछिकै सबैभन्दा छाेटाे बजेट भाषण‚ आर्थिक चुनौती सामना गर्न सक्षम रहेको दाबी

 माघ १८, २०७८ मंगलबार २०:२२:२२ | एजेन्सी
unn.prixa.net

भारतमा अर्थमन्त्री निर्मला सितारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गर्नुभएको छ । 

आज मङ्गलवार सङ्घीय संसद्‌मा गरिएको बजेट भाषण एक घण्टा ३१ मिनेट मात्रको रहेको थियो । जबकि अघिल्लो वर्षको बजेट भाषण एक घण्टा ४८ मिनेटको रहेको थियो । त्यसैगरी सन् २०२० को बजेट भाषण भने दुई घण्टा ४० मिनेटको रहेको थियो । 

अर्थमन्त्री सितारमणले लोक सभामा आज २०२२/०२३ को बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरिएका योजना तथा कार्यक्रमबाट भारतको अर्थतन्त्र बलियो हुने र आउँदाे २५ वर्षका लागि आधार तय हुने उहाँले दाबी गर्नुभएको छ ।

अर्थमन्त्री सितारमणले आउँदा चुनौती सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गर्नुभयो ।

भारतले सार्वजनिक लगानी बढाउँदै आधुनिक भौतिक संरचना निर्माणका लागि कार्यक्रम केन्द्रित गरेको उहाँको भनाइ थियो । 

आउँदाे वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र “प्रधानमन्त्री गति शक्ति” कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्ग लगायतको विकास‚ निर्माण र स्तरोन्नति गर्ने योजना समावेश गरिएको छ ।

भारतको सङ्घीय सरकारको मन्त्रिपरिषद्ले आज नै बजेट प्रस्ताव पारित गर्दै सङ्घीय संसद्‍मा पेस गर्ने निर्णय गरेको थियो ।  

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री सितारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुभएको थियो । प्रस्तुत बजेटका बारेमा सरोकारवाला तथा विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । 

बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आउँदाे फेब्रुअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने तालिका बनाइएको त्यहाँकाे संसद् सचिवालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया