गहुँ पसाउने बेला पनि मलको अभाव, उत्पादन घट्ने किसानको चिन्ता

 माघ २०, २०७८ बिहीबार ८:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गहुँ पसाउने बेला किसानले मलको अभाव खेप्नुपरेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् ।

अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो छैन । कृषि मन्त्री महिन्द्र राय यादवले यसअघि जीटूजी प्रक्रियाबाट मल ल्याउन पहल भइरहेको बताए पनि प्रक्रिया अगाडि बढेको छैन ।

यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन् । तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन ।

मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य उच्च भएको र अभाव समेत रहेकाले आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ। नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ ।

गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । किसानले मल नपाउने र यो बेलामा ढुसी तथा सिँदुरे रोगले समेत सताउने भएकाले उत्पादनमा समस्या हुने नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवम् बालीविज्ञ सुरज वैद्यले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया