चार वर्षे कार्यकालकाे समीक्षा गर्दै 'संसदमा समिति प्रणाली : राष्ट्रिय सभा विशेष' पुस्तक प्रकाशित

 माघ २१, २०७८ शुक्रबार १९:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा र त्यसअन्तर्गतका समितिहरूको पछिल्लो झन्डै चार वर्षे कार्यकालको समीक्षा गर्दै 'संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष' नामक पुस्तक प्रकाशित गरिएको छ । पुस्तकमा संसद् र त्यसका प्रभावकारिताका लागि अमेरिकी कांग्रेस, भारतको माथिल्लो सदन र अस्ट्रेलियाका संसद् र संसदीय प्रणालीहरूको अनुभवसमेत समेटिएको छ । 

आज शुक्रवार सिंहदरबारमा आयोजित याे पुस्तकको छलफल कार्यक्रममा बोल्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले राष्ट्रिय सभा र यसका समितिहरूका कामबारे जानकारी गराउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तकमा राष्ट्रिय सभा र त्यसका समितिहरूमा विधेयकका बारेमा हुने छलफल, समितिका सभापतिहरूको अनुभव र संसदीय समिति प्रणालीबारे विभिन्न देशका अनुभवहरूलाई समेटिएको बताउनुभयो ।

राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् भने संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त समितिको रूपमा रहेका छन । ती सबै समितिका सभापतिहरूको अनुभूति पुस्तकमा समावेश गरिएको छ । त्यसैगरी पुस्तकमा सांसदहरूले समितिमा काम गर्दाको समितिगत प्रणालीबारे पनि जानकारी दिने प्रयास गरेका छन् । 

राष्ट्रिय सभाको समिति प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित यो पुस्तक राष्ट्रिय सभा र त्यसका समितिहरूका कामलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास लिइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया