गृहमन्त्रीद्वारा हिमपात तथा हावाहुरीबाट प्रभावितलाई राहत दिन निर्देशन

 माघ २२, २०७८ शनिबार १०:१७:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाकाे परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । 

गृहमन्त्री खाँडले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो । 

शुक्रवार दिउँसो धनुषाको सबैला नगरपालिका-१२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरबिन्दको ज्यान गएकाे थियाे ।

गृहमन्त्री खाँडले आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

त्यस्तै शुक्रवारै रौतहटको बुधिमाई नगरपालिका-१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममङ्गल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको ज्यान गएकाे थियाे । गृहमन्त्री खाँडले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिनुभयो । 

गृहमन्त्री खाँडले महाशाखा प्रमुख कोइरालालाई हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिनुभएको छ । 

त्यस्तै मन्त्री खाँडले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी प्रसाईँ (जुम्ला), गणेश आचार्य (हुम्ला), शङ्करहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुङ्गा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि जिल्लाको अवस्थाबारे जानकारी लिनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया