अफगानिस्तानमा ३ सय भन्दा धेरै मिडिया बन्द,  २७ सय पत्रकारले जागिर गुमाए

 माघ २२, २०७८ शनिबार १६:५४:११ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता  तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । ५१ वटा टिभि स्टेशन, एक सय ३२ वटा रेडियो र ४९ वटा अनलाइन सञ्चार माध्यम बन्द भएका हुन् । तालिबानले सत्ता सम्हालेपछि सबैभन्दा ठूलो असर पत्रिकामा परेको छ । अफगानिस्तानमा एक सय ४४ वटामध्ये हाल २० वटा मात्रै पत्रिका प्रकाशनमा रहेको आईएफजेको रिपोर्टलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै पाँच हजार ६९ जना पत्रकारमध्ये हाल दुई हजार तीन सय २३ जना पत्रकार मात्रै कार्यरत रहेको र जागिर गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको खबरमा उल्लेख छ । दुई सय ४३ जना महिला अझै काममै रहेका छन् । रिर्पोटिङमा  तालिबानको प्रतिबन्ध, आर्थिक संकट र विकास साझेदारले सहयोग रोकेपछि अफगानिस्तानमा सञ्चारमाध्यम बन्द हुने र पत्रकारले जागिर गुमाउने क्रम बढेको छ ।

अफगानिस्तानको मिडिया समाजले सूचना पाउने नागरिकको हकको सम्मानको लागि भए पनि मिडिया बन्द हुने अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । अफगान स्वतन्त्र पत्रकार संघका अध्यक्ष हजतुल्लाह मुजादिदिले मिडियाको अवस्थालाई लिएर तत्कालै कदम नचालेमा निकट भविष्यमा अफगानिस्तानमा तालिबान नजिकका सीमित मिडिया मात्रै बाँकी रहने बताउनुभएको छ ।

यस्तै, अफगानिस्तान पत्रकार काउन्सिलका प्रमुख हफिजुल्लाह बराकजाईले अफगानिस्तानमा सूचनाको पहुँच बढाइरहनको लागि अन्तर्राष्ट्रिय समुदायलाई मिडिया क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया