काेराेना भाइरस : ‘प्रतिबन्धहरू हटे पनि स्वास्थ्य मापदण्ड पालना गर्न नछाेडाैँ’

 माघ २४, २०७८ सोमबार १३:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) का कारण लगाइएकाे विभिन्न प्रतिबन्ध हटाउँदै जनजीवनलाई थप सहज बनाएको छ । काठमाण्डाै उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली हटाउनुका साथै फिल्म हल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो । 

अहिले कोरोना भाइरसकाे सङ्क्रमण दर कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

आज साेमवारकाे कुराकानीमा उहाँले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र सङ्क्रमण पुष्टि हुनेको सङ्ख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरूको सङ्ख्या अनुमानित ३४ लाख रहेको र तीमध्ये ३० लाख बालबालिकाहरूले खोपको पहिलो मात्रा लगाइसकेको बताउनुभयो । उहाँले यो उमेर समूहका बाँकी चार लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कोभिड १९ सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्या कम हुँदै गएको छ । अस्पताल भर्ना हुनेहरूको सङ्ख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ । यद्यपि कोरोनाको जोखिम भने कायम छ । हामीले जोखिमबाट सतर्कता अपनाउनुपर्ने, सावधान रहनुपर्ने कुराहरू छँदैछन् । जनजीवनलाई सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निर्णयहरू लिँदै गइरहेको अवस्था छ । चार लाख जति बालबालिकाहरू खोप लगाउन बाँकी हुनुहुन्छ । उहाँहरूलाई पनि चाँडै खोप लगाइसक्न सक्छौँ भन्ने हिसाबले काम गर्दैछौँ ।’

सहप्रवक्ता अधिकारीले कोरोना सङ्क्रमण भइ निको हुनेको सङ्ख्या बढी रहेकाले उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताउनु उल्लेख गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेला–बेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया