संसदबारे धेरै प्रश्न उठेकाे छ, आलाेचना र सुझावलाई सकारात्मक रूपमा लिएकाे छु : सभामुख सापकाेटा

 माघ २७, २०७८ बिहीबार १४:१०:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चोक – सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताउनुभएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदानप्रदान गर्न आज बिहीवार धुलिखेलमा आयोजित कार्यक्रममा उहाँले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मक रूपमा लिएको छु ।’ 

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पुर्‍याउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरि हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्नेछन्, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ ।’

देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसद्ले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्व समुदायजस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ, मातृभूमिप्रति इमानदार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ ।’ सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गर्नुभयो ।

लोकतन्त्र प्रवचन दिने विषय नभइ आत्मसात् र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै उहाँले संसदमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए पनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुसार गर्न नसकिएको बताउनुभयो । उहाँले पर्याप्त बैठक तथा छलफल हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा  सिकाइका विविध पक्ष छुटेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष दाहालले भन्नुभयो, ‘ऐन, कानुन निर्माणदेखि सदन सञ्चालनसम्मका संसदीय गतिविधिमा सबै सांसदको भूमिका बराबरी रहन्छ । तर महिला पदाधिकारी तथा सांसदले यी अभ्यासमा अपवादबाहेक आफू ओझेलमा परेको अनुभव गर्नुभएको छ ।’ 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया