हिजाब विवाद : अर्काे आदेशसम्म धार्मिक पाेसाक लगाउन राेक

 माघ २७, २०७८ बिहीबार २०:१०:३४ | एजेन्सी
unn.prixa.net

भारतको कर्नाटक राज्यमा छात्राहरूलाई हिजाब लगाउन प्रतिबन्ध गरिएको विरुद्ध दायर गरिएको मुद्दामा कर्नाटक उच्च अदालतका तीन न्यायाधीशको इजलासले सुनुवाइ सुरु गरेको छ । आज बिहीवार सुरुवाती बहस सुनेपछि इजलासले आउँदो सोमवार थप सुनुवाइ हुने जनाएको छ । 

साथै उच्च अदालतले यो विषय समाधान नभएसम्मका लागि छात्राहरूलाई मानिसहरूलाई उक्साउन सक्ने हिजाब, पहेँलो रङ्गको सल लगायतका पाेसाक नलगाउन आदेश दिएको छ । 

कर्नाटक उच्च अदालतका मुख्य न्यायाधीश रितु राज अवस्थीले एक मुसलमान महिला न्यायाधीशलाई तीन सदस्यीय इजलासको सदस्य बनाउनुभएको छ । न्यायाधीश जैबुनिसा मोहिउद्दीन खाजीलाई गएको वर्ष एक जिल्ला न्यायाधीशको पदबाट पदोन्नति गरेर उच्च अदालतको न्यायाधीश बनाइएको थियो । 

यो विवाद चर्किँदै गएपछि गएको मङ्गलवार राज्य सरकारले तीन दिनसम्म सबै हाईस्कुल र कलेज बन्द गर्न आदेश दिएको थियो । 

कहाँबाट सुरु भएको थियो हिजाब विवाद ?

कर्नाटको उडुपी जिल्लामा एक कलेजमा हिजाब प्रतिबन्धको विरोधमा छात्राहरूले प्रदर्शन सुरु गरे । उडुपी कर्नाटकको त्यो जिल्लामा पर्छ जो साम्प्रदायिक हिसाबले संवेदनशील छ । 

कलेजले भने छात्राहरूलाई परिसरमा हिजाब लगाउन रोक नलगाएको र कक्षामा आउँदा मात्र हिजाब खोलेर आउन भनेको बताएको छ । तर प्रदर्शन गरिरहेका छात्राहरूको मत भने फरक थियो । उनीहरूले कक्षाभित्र पनि हिजाब लगाउन दिनुपर्ने बताएका छन् । 

हिजाब लगाउन रोक लगाएको सन्दर्भमा छात्राहरूले उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । हिजाब लगाउनु आफ्नो संवैधानिक अधिकार भएको उनीहरूको भनाइ छ । 

विवाद अर्काे कलेजसम्म कसरी पुग्यो ?

उडुपीको कलेजमा प्रदर्शन गरिरहेका छात्राहरूको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि केही अन्य कलेजमा हिन्दू छात्राहरूले पहेँलो रङ्गको सल लगाउन सुरु गरे, त्यसपछि अधिकारीहरूले हिजाब र पहेँलो रङ्गको सल दुवै कलेज परिसरमा नचल्ने स्पष्ट पार्यो । 

गएको हप्ता कर्नाटकको उडुपी जिल्लाको कुन्दापुरमा एक कलेजको प्रवेश द्वार बाहिर हिजाब लगाएर उभिएका छात्राहरूको भिडियो भाइरल भएपछि यसले विवादको रूप लिएको हो । 

हिन्दू छात्राहरूले पनि हिजाब लगाउने विद्यार्थीहरूको विरुद्ध मार्च सुरु गरे । यद्यपि गएको मङ्गलवारसम्म सबै क्रियाकलाप शान्तिपूर्वक नै भइरहेको थियो । यस विषयमा छात्राहरूको मुद्दामा अदालतमा सुनुवाइ हुनुभन्दा केही घण्टाअघि मात्रै केही सहरमा छात्राहरूले ढुङ्गामुढा गरेको र आगजनी गरेको घटना सार्वजनिक भयो । 

यस विषयमा बोल्दै नोबेल पुरस्कार विजेता मलाला युसुफजईले घटना डरलाग्दो भएको बताएकी छिन् । युसुफजाईले कक्षामा हिजाब लगाउन पाउने अधिकारका निम्ति प्रदर्शन गरिरहेका ६ भारतीय विद्यार्थीको समर्थनमा बोलेकी हुन् । 

यस्तै कर्नाटकका शिक्षा मन्त्री नागेश बीसीले कलेज प्रशासनको समर्थन गर्दै परिसरमा पहेँलो रङ्गको सल र हिजाब दुवैमा रोक लगाउनु पर्ने बताउनुभएको छ । साथै उहाँले केही छात्राहरूले अनावश्यक रूपमा प्रदर्शनलाई चर्काएको आरोप लगाउनुभएको छ । 

यस प्रकरणलाई लिएर मुसलमान छात्राहरू कर्नाटक उच्च अदालतसम्म पुगे । गएको बुधवार न्यायाधीश कृष्णा दीक्षितले दुई मुद्दामा सुनुवाइ गर्दै यस विषयलाई वृहत् इजलासमा पठाउनुभएको थियो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया