आज काठमाण्डौको दरबारमार्गमा एमालेको प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
गोरखा – गोरखा सदरमुकाममा औषधि भन्दै विभिन्न रसायन बिक्री गर्दै हिँडेका ३ भारतीय नागरिकलाई कडा कारबाही गर्नुपर्नेमा प्रहरीले सामान्य कागज गराई छाेडेको औषधि व्यवसायीहरुले अाराेप लगाएका छन् ।
पुराना सिसी र धातुका भाँडामा झोल र चक्की राखेर उनीहरुले बिक्री गरिरहेका बेला सदरमुकामका औषधि व्यवसायीले नियन्त्रणमा लिएका थिए । विभिन्न रसायनहरु औषधी भन्दै बिक्री गरिरहेको भेटेपछि प्रहरीको जिम्मा लगाइएको औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठले बताउनुभयो ।
‘ग्याष्ट्रिक, अम्लपित्त, पिनास, छाला चिलाउने, कपाल झर्ने जस्ता रोगको अचूक औषधि भन्दै बिक्री गरिरहेको पाइयो’ उहाँले भन्नुभयो, ‘न नाम थियो, न लेवल छ, केही पनि छैन, केवल रातो निलो विभिन्न रंगका झोल र क्याप्सुल जस्ता गेडागुडीहरु थिए, त्यसलाई औषधि हो भन्ने केही आधार नै थिएन ।’
त्यस्ता रसायन पनि उनीहरुले विभिन्न रोगको औषधी हो भन्दै चर्को मूल्यमा बेच्दै आएका थिए ।
औषधिको कारोबार गर्नका लागि औषधी व्यवस्था विभागको स्वीकृतिसहित आन्तरिक राजस्व कार्यालयमा दर्ता हुनुपर्ने लगायत मापदण्ड पूरा गर्नुपर्छ । झोलामा यसप्रकारको औषधि बेच्न पनि औषधि व्यवस्था विभागले निषेध गरेको छ ।
तर उनीहरुले कुनै पनि सरकारी निकायको स्वीकृति र अनुमतिविना यस्ता औषधि बिक्री गरेका हुन् ।
उनीहरुले बिक्री गरेको सामग्री औषधि हो या होइन भन्ने समेत परीक्षण नगरी प्रहरीले उनीहरुलाई सामान्य कागज गराएर छोडेको छ । औषधि भन्दै बेचिएका त्यस्ता सामग्री प्रहरीले हतार हतार नष्ट गरेको छ ।
अबदेखि बिक्री नगर्ने भन्ने कागज गराएर छोडिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । जनस्वास्थ्यमा गम्भीर असर गर्ने यसखालका सामग्री बेच्नेलाई सामान्य कडा कानूनी कारवाही गर्नुपर्नेमा उन्मुक्ति दिइएको भन्दै औषधि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
सदरमुकाममा आयुर्वेदिक औषधि पसल चलाउने एक व्यवसायीले भन्नुभयो, ‘एक त त्यो औषधि हो कि हानिकारक रसायन हो भन्ने नै निश्चित गरिएन, हतार हतार नष्ट गरेर उनीहरुलाई छुटाउने काम भयो ।’
उपभोक्ता हित संरक्षण ऐन २०५४ अनुसार उत्पादकले उपभोग्य वस्तुमा लेबल अनिवार्य लगाउनु पर्ने हुन्छ ।
ऐनको दफा ९ मा लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, खाद्य पदार्थ तथा औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल, मूल्य ब्याच नम्बर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।